कारवाहीको माग गर्दै प्रदर्शन



नेपालगञ्ज ।

रुकुम पश्चिम चौरजहारीको सोतीको भएको घटनालाई लिएर बाँकेको नेपालगञ्जमा प्रदर्शन गरिएको छ । घटनामा संलग्नलाई कानुन बमोजिम कारवाहीको माग गर्दै आइतबार नेपालगञ्जमा प्रदर्शन गरिएको हो । दलितसँग सम्बन्धित विभिन्न संघसंस्था र अगुवाको सहभागिता रहेको प्रदर्शनमा सहभागीले रुकुम घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए । विपि चोकबाट सुरु भएको प्रदर्शन गणेशमान चोक, चारवाहिनी, भेरी अस्पताल, जिल्ला प्रशासन कार्यालय, त्रिभुवन चोक हुँदै पुनः विपि चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा नेकपाका नेता एवम् संविधानसभा सदस्य दलबहादुर सुनारले रुकुममा भएको घटना अमानविय भएको बताउँदै जातियताको आधारमा गरिने विभेदले दलित समुदायलाई थिचेको दाबी गरे । दोषीलाई पक्राउ गरिए पनि मुद्दा दायर गर्न ढिलाई भएको बताउँदै उनले दोषीलाई कानुन बमोजिम कारवाही र निर्दोषलाई निशर्त रिहाईको माग गरेका थिए ।‘जातियताको आधारमा गरिने विभेद कुनै पनि हालतमा क्षम्य हुँदैन,’ उनले भने ।

उनले जातियताको आधारमा गरिने विभेद अन्त्यका लागि संविधानमा उल्लेख भए पनि सामाजिक रुपमा अन्त्य हुन नसकेको बताए । ‘नेपालमा लोकतन्त्र आयो, तर दुर्भाग्य लोकतन्त्रको अनुभूती दलित समुदायले अहिले पनि गर्न सकेको छैन,’ पूर्व सिचाइँ राज्यमन्त्री समेत रहेका सुनारले भने । कोणसभामा संविधान सभाका सदस्य आशा विकले रुकुम घटना जातियताका आधारमा भएको बताइन् । उनले जातियताको आधारमा विभेद गर्नेलाई राज्यले कारवाही नगरे दलित समुदाय सशक्त आन्दोलन गर्न तयार रहेको बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १ गते सोमबार