नरैनापुरबासीले पाए चिकित्सक



नेपालगञ्ज ।

बाँकेको नरैनापुर क्षेत्रमा चिकित्सक पुगेका छन् । चिकित्सक पुगेसँगै अब नरैनापुर वडा नम्बर–२, लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित चिकित्सा सेवा शुुरु हुँदैछ । नेपाल सरकारले एमबिबिएस डाक्टर सागर पन्तलाई खटाएपछि सो क्षेत्रमा नियमित चिकित्सा सेवा शुरु हुने भएको हो । छात्रवृत्ति करार अन्र्तगत डाक्टर पन्तले प्राथमिक स्वास्थ्य केन्द्रमा हाजिर भई जिम्मेवारी समेत लिइसकेका छन् । सो क्षेत्रबाट निर्वाचित सांसद महेश्वर गहतराज ‘अथक’, कृष्णा केसी ‘नमूना’, गाउँपालिका लगायत सरोकारवालाहरुले दरबन्दी अनुुसारको चिकित्सक उपलव्ध गराई स्वास्थ्य सेवा प्रवाह गर्न माग गर्दै आएका थिए ।

कोरोना संक्रमणका कारण नरैनापुरमा एक जनाको ज्यान गएपछि प्राथमिक स्वास्थ्य केन्द्रको विस्तारीकरण र सेवा प्रवाहको माग झनै चर्को रुपमा उठेको थियो । एक दशक लगाएर निर्माण गरिएको अत्याधुनिक भवनमा चिकित्सकसँगै औषधि अभाव रहँदै आएको छ । वर्षौंदेखि चिकित्सकको अभाव झेल्दै आएका नरैनापुरबासीले अब भने चिकित्सा सेवा पाउने भएका छन् । शिक्षण अस्पताल काठमाडौंबाट अध्ययन पूरा गरेका डाक्टर पन्तले केन्द्रमा पुगेर जनप्रतिनिधि लगायतसँग आवश्यक परामर्श समेत गरेका छन् । सो क्रममा सेवा प्रवाहका लागि चाहिने आधारभूत प्रविधि र सामग्री व्यवस्थापन गर्ने तर्फ केन्द्रित भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । एक हप्ताभित्र नियमित स्वास्थ्य सेवा शुरु गर्ने गरी तयारी गरिएको डाक्टर पन्तले बताए ।

यद्यपी स्वास्थ्य केन्द्रमा चिकित्सक ल्याउन प्रदेससभा सदस्य कृष्णा केसी ‘नमूना’को विशेष पहल गरेकी थिइन् । ‘कोरोना महामारीले थला परेको नरैनापुरले डाक्टर पाएको छ’ उनले खुसी हुँदै भनिन्, ‘विद्युतीकरण पनि भइसकेको छ । यसले पनि अब स्वास्थ्य सेवा प्रदान गर्न थप मद्द पु¥याउनेछ ।’ चिकित्सकको उचित बसोबासको लागि गाउँपालिका अध्यक्षसँग कुराकानी भइसकेको सांसद नमूनाले जानकारी दिइन् । ‘कोरोनाको महामारी झेलेको नरैनापुरले बिस्तारै अब विकास समेत भित्र्याउँदैछ’ उनले भनिन्, ‘डाक्टर पुगिसकेपछि कसरी १२ महिना राम्रो सेवा दिन सकिन्छ भनेर सम्बन्धित निकायसँग छलफल गरिरहेकी छु ।’

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३१ गते शनिबार