रावन विश्वकर्मा, बाँसगढी ।
जंगली जनावर रोक्न बर्दियाको बाँसगढी राँझाका स्थानिय तारजाली लगाउन जुटेका छन् । बाँसगढी नगरपालिकाको समन्वय र बर्दिया राष्ट्रिय निकुञ्जको सहयोगमा तारजाली निर्माणको काममा स्थानिय आफै अग्रसर देखिएका हुन् । बाँसगढी नगरपालिका २ मा पर्ने राँझा भगवती टोलदेखि बर्दिया राष्ट्रिय निकुञ्जको बेतहनी पोष्टेसम्म तारजाली लगाउन अहिले स्थानिय जुटेको छन् ।
निकुञ्जका अनुमानित ३९ लाख लागतमा बाघखोर उपभोक्ता समिति अन्तरर्गतका उपभोक्ताहरुले आफंै तारजाली लगाउने बाघखोर उपभोक्ता समितिका अध्यक्ष अर्जुन कुमार खड्काले जानकारी दिए । निकुञ्जको मध्यवर्ति क्षेत्रबाट जंगली जनावर आएर स्थानियहरुको बालीनाली खाईदिने र पशुचौपायहरु सुरक्षित नरहेको अवस्थामा तारजाली लगाउँदा स्थानियले सुरक्षितको महशुस गर्ने उनले बताए ।
झण्डै ३ हजार २ सय मिटरसम्म तारजाली लगाउने कार्यको शुक्रबार बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले उद्घाटन गरेका थिए । उनले तारजालीले स्थानियबासी सुरक्षित हुने कुरामा विश्वस्त पार्दै तारजालीको सुरक्षा पनि स्थानियले गर्नु पर्नेमा जोड दिए । ‘तारजाली निर्माणको काममा आगामी वर्ष नगरपालिकाले पनि निरन्तरता दिन्छ’ उनले भने, ‘यसमा नगरपालिकालाई सबैंले सहयोग गर्नुपर्छ ।’उद्घाटन कार्यक्रममा बाँसगढी २ का अध्यक्ष घमण्ड चन्द, अन्य जनप्रतिनिधी, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्