क्वारेन्टिन र आईसोलेसनको लागि लाखौं खर्चिदैं बाँसगढी, खाना नास्ताको मात्रै दैनिक ३ लाख बढी खर्च



रावन विश्वकर्मा, बाँसगढी ।

बर्दियाको बाँसगढी नगरपालिकामा १९ वटा क्वारेन्टिन रहेका छन् । सुरुमा बाँसगढी नगरपालिकाको नयाँ भवनमा मात्रै क्वारेन्टिनको निर्माण गरिएको थियो भने अहिले भारतबाट मानिसहरु आउने क्रम बढेसँगै सबै वडाहरुमा क्वारेन्टिन बनाइएको छ । अहिलेसम्म क्वारेन्टिनको संख्या १९ वटा पुगिसकेका छन् । नगरपालिकाले क्वारेन्टिन निर्माण, व्यवस्थापन र क्वारेन्टिनमा बस्नेहरुको दैनिक खाना नास्ता लगायतका खर्चहरु आफंै व्यहोर्दै आएको छ । नगरपालिकामा क्वारेन्टिन व्यवस्थापन र आईसोलेसनको खर्च सबैभन्दा बढी देखिएको नगर स्वास्थ्य शाखाका प्रमुख धन बहादुर रेग्मीले जानकारी दिए ।

‘क्वारेन्टिनमा बस्ने एक जना बराबर दैनिक झण्डै ३ सय ५० को हाराहारीमा खाना नास्ता र पानीमा मात्रै खर्च हुन्छ’ उनले भने, ‘यसरी हेर्दा क्वारेन्टिन व्यवस्थापनमा मात्रै दैनिक ठूलो खर्च छ ।’ क्वारेन्टिन बनाउन आवश्यक पर्ने भौतिक पुर्वाधारदेखि लिएर दैनिक आईपर्ने खर्च लगायत स्वास्थ्य उपचारको खर्च जोड्दा त झनै ठूलो खर्च आउने उनी बताउँछन् । नगरभित्र अहिले १ हजार २ सय ३४ बेड क्षमताका १९ क्वारेन्टिनमा ९ सय ३२ जना रहेका छन् । ९ सय ३२ जनाको दैनिक ३ सय ५० को दरले मात्रै जोड्ने हो भने पनि दैनिक ३ लाख २६ हजार २ सय खर्च हुने गरेको छ । ९ सय ३२ जनालाई ११ दिन मात्रै क्वारेन्टिनमा राखेको खाना नास्ता खर्च मात्रै ३५ लाख ८८ हजार २ सय हुन आउँछ ।

क्वारेन्टाइनमा अन्य रेखदेख गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), स्वास्थ्य सामग्री, सेनिटाइजर, मास्क लगायतको खर्च त छुट्टै छ । बाँसगढी नगरपालिकामा ३ सय २० जना क्वारेन्टिनमा बसेर होम क्वारेन्टिनमा फर्किसकेको स्वास्थ्य शाखा बाँसगढीले जनाएको छ । नगरमा क्वारेन्टिन पछिको खर्च आईसोलेसन सेन्टरमा आउने गरेको छ । बाँसगढी नगरपालिकाले अहिले १८ शैयाको आईसोलेसन सेन्टर निर्माण गरेको छ भने अन्यमा वेड पनि थप्ने प्रक्रियामा छ । आईसोलेसनमा सिसि टिभी क्यामेरा जडानसँगै स्तरिय बेड राखिएको स्वास्थ्य शाखा प्रमुख रेग्मीले बताए । आईसोलेसनमा आवश्यक पर्ने स्वास्थ्य उपचारका सामाग्री, व्यक्तिगत सुरक्षाका सामाग्री लगायतका सामाग्रीहरुको आवश्यक पर्ने भएकाले पनि क्वारेन्टिनपछिको ठुलो खर्च आईसोलेसन सेन्टरमा आउने गरेको स्वास्थ्य शाखा बाँसगढीले जनाएको छ ।

नगरपालिकाले क्वारेन्टिन व्यवस्थापन, आईसोलेसन सेन्टर र राहत वितरणको खर्च बढ्दै गएपछि अन्य शीर्षकमा विनियोजन बजेट समेत रकमान्तर गरेको छ । बाँसगढी नगरपालिकामा अहिले क्वारेन्टिन व्यवस्थापन र आईसोलेसनमा नै बढी खर्च देखिएको नगर प्रमुख सालिकराम अधिकारीले बताए । खर्च धेरै देखिएपछि नगरमा विभिन्न शीर्षकको ४९ लाख बजेट कोभिड–१९ कोषमा रकमान्तर गरिएको समेत जानकारी दिए । ‘बाँसगढी नगरपालिकाको कोभिड–१९ कोषमा १ करोड ३ लाख बढी रकम जम्मा गर्यौ’ उनले भने, ‘अहिले त्यसैबाट क्वारेन्टिन व्यवस्थापन, आईसोलेसन निर्माण लगायतमा खर्च गरिरहेका छौँ ।’

बाँसगढी नगरपालिकाले अघिल्लो वर्षको बिपत् व्यवस्थापन कोषको रकम १० लाख, यस वर्षको १० लाख, सहयोगीदाताहरुबाट प्राप्त भएको झण्डै १९ लाख, प्रदेश सरकारबाट प्राप्त भएको १५ लाख र विभिन्न शिर्षकबाट रकमान्तर गरी ४९ लाख रकम कोषमा जम्मा गरेको
छ । बाँसगढी नगरपालिकाकाले छिमेकी मुलक भारत लगायत बाहिरी जिल्लाबाट फर्किएका र अलपत्र अवस्थामा रहेका नागरिकहरुलाई क्वारेन्टिनसम्म ल्याउन र लकडाउनका कारण प्रभावित अति विपन्न परिवारलाई राहत वितरणमा पनि खर्च गरेको हो ।

त्यस्तै बारबर्दिया नगरपालिकामा पनि कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा बजेटको अप्रर्याप्तता देखिएको छ । नगरपालिकाले अनिवार्य आर्थिक दायित्व आईसकेको बजेट शिर्षक बाहेक बाँकी सबै रकम कोभिड– १९ शिर्षकमा रकमान्तर गरि १ करोड ३५ लाख बजेट कोषमा जम्मा गरेको भए पनि अव रकमको अपर्याप्ताको अवस्था सिर्जना हुन थालेको नगर प्रमुख दुर्गा बहादुर थारुले बताए । कोष मार्फत नगरका अति विपन्न श्रमिकहरुलाई राहत, क्वारेन्टिन व्यवस्थापन, स्वास्थ्य उपकरणहरु, १२ शैयाको आईसोलेसन सेन्टर निर्माण लगायतको व्यवस्थापनमा ठुलो रकम खर्च गरिएको नगर प्रमुख थारुले बताए ।

बारबर्दियामा अहिले ४६ वटा सामुदायिक क्वारेन्टिन छन् । सामुदायिक क्वारेन्टिनमा बस्ने सबैको खाना नास्ता आफ्न्तले नै पुर्याउँदै आएका छन् । यसरी हेर्दा बर्दियाका सबै स्थानियहरुले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि ठुलो रकम खर्च गरेका छन् । ८ स्थानिय तह रहेको बर्दियामा शुक्रबारसम्मको तथ्यांक हेर्ने हो भने १ सय ६७ वटा क्वारेन्टिन स्थल निर्माण गरिएका छन् । ६ हजार ९ सय ४४ बेड क्षमताको क्वारेन्टिनमा ४ हजार ९ सय ६३ जना बसिरहेका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्यांक अनुसार जेठ १ गते देखि शनिबार सम्म बर्दियामा बाहिरबाट ४ हजार ७ सय ३८ जना फर्किएका छन भने १९ हजार ५ सय ४४ परिवारलाई राहत वितरण गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २६ गते सोमबार