विश्वमा अहिले नोवेल कोरोना भाईरस अर्थात् कोभिड– १९ को महामारीले आक्रान्त बनाईरहेको अबस्था छ । नेपालमा पनि कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो अवस्थामा छ भने जोखिम पनि उत्तिकै बढेको छ । कोरोना भाईरसको उच्च जोखिममा रहेको छिमेकी मुलक भारतबाट फर्किने क्रम पनि बढ्दो छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण र भारतबाट फर्किएका नागरिकहरुको व्यवस्थापन तथा आगामी वर्षको योजनाको लागि नगरपालिकाले गरेको कामका बिषयमा बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा बहादुर थारु ‘कबिर’सँग डिल्ली शाहीले गरेको कुराकानी ।
१. बारबर्दिया नगरपालिकाको पछिल्लो अवस्था के—कस्तो रहेको छ नी ?
- विशेष गरी भारतबाट आउने श्रमिकहरुको व्यवस्थापनमा हामी जुटिरहेका छौँ । भारतका विभिन्न क्षेत्रबाट श्रमिकहरु आफ्नो घर फर्किने क्रम चलिरहेको छ । मुर्तिहा नाका, रुपैडिया, गौरीफन्टा, गड्डाचौकी लगायतका नाकाबाट आउने श्रमिकहरुलाई हामीले नगरसम्म ल्याउने र उहाँहरुलाई हाम्रो नगरको सामुदायिक क्वारेन्टिनहरुमा बसाई व्यवस्थित गरिरहेका छौँ । भारतबाट आउने श्रमिकहरु र समाजको बिच भौतिक दुरी कायम गर्नको लागि हामीले यस्तो गरिरहेका छांै । त्यस्तै क्वारेन्टिनमा रहेकाहरुको १५ दिन पुगेपछि उहाँहरुको आरडिटी जाँच गरिरहेका छौँ । आरडिटी जाँच गर्दा पोजेटिभ देखिएकाहरु र उहाँको समुहमा रहेकाहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाउने गरेका छौं । आज भोली यहि काम मै हामी व्यस्त भईरहेको अवस्था छ ।
२. अहिले कोरोना संक्रमण बढेसँगै संक्रमणको उच्च जोखिम छ । यसको रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाले के गर्दैछ ?
- नगरपालिकाले जोखिम न्यूनिकरण गर्नका लागि क्वारेन्टिन निर्माण गरेका छौं । बाहिरबाट आएका नागरिकहरुलाई अनिवार्य सामुदायिक क्वारेन्टिनमा १५ दिन राख्ने गरेका
छौं । सामुदायिक क्वारेन्टिन भएकाले क्वारेन्टिनमा रहदाँसम्म समुदायले नै क्वारेन्टिनको व्यवस्थापन गर्ने गरेका छन् । र त्यसको नेतृत्व नगर कार्यपालिकाले गर्ने गरेको छ । क्वारेन्टिनमा बस्नेहरुको खानाको व्यवस्था समेत आफन्तले गर्ने गरेका छन् । हामीले क्वारेन्टिनमा रहेका व्यक्तिहरुको नियमित स्वास्थ्य जाँच गर्ने, उहाँहरुलाई खाना दिँदा वा आफ्न्त भेट्न जाँदा दुरी कायम गर्ने, क्वारेन्टिनबाट कोही पनि व्यक्ति लुकेर बाहिर समाजमा घुलमिल गर्न नपाओस् भन्नका लागि सुरक्षा व्यवस्था मिलाउने लगाएका छौं । क्वारेन्टिनमा रहेका व्यक्तिहरुका लागि अत्यावश्यक सामाग्रीहरु झुल, तन्ना, म्याट, सरफ सावुन लगायतका सामाग्रीहरु उपलब्ध गराई रहेका छौं । उनीहरुलाई सुरक्षा टिम र नगरपालिकाको टिमले समेत सतर्कताका साथ क्वारेन्टिनमा राखेका छौं । त्यस्तै सबै क्वारेन्टिन वरिपरि सुरक्षा गर्ने र औषधी छर्किने कामहरु पनि गरिरहेका छौ । हामीले बिशेष रुपमा क्वारेन्टिनबाट बाहिर संक्रमण नफैलियोस् भन्नका लागि सामुदायिक क्वारेन्टिन व्यवस्थापन समिति गठन गरेका छौं । हाम्रो नगरमा अहिले ४६ वटा सामुदायिक क्वारेन्टिन छन् । सबै क्वारेन्टिनमा व्यवस्थापन समिति गठन गरेका छौँ । जनप्रतिनिधीको नेतृत्वमा सम्बन्धी गाँउका मुल बरघर, सम्बन्धीत विद्यालयको प्रधानाध्यापक, सम्बन्धीत गाँउका महिला स्वास्थ्य स्यंमसेविका लगायतको व्यवस्थापन समिति गठन भएको छ । भने क्वारेन्टिन निगरानीको लागि ७ जनाको स्वंयमसेवक दल पनि गठन गरेका छौँ । उहाँहरुले क्वारेन्टिनको दैनिक रुपमा निगरानी गरिरहनु भएको छ ।३. कोरोना संक्रमण रोकथाममा के कस्ता चुनौति देखिएका छन् ?
- चुनौतीको हिवासले हेर्दा भारतबाट आएका सबै श्रमिकहरुकोे सबैको पीसीआर गरिरहेका थियौँ । तर विचमा आएर पीसीआर प्रविधि सबैलाई उपलब्ध गराउन नसक्ने कुराको जानकारी स्वास्थ्य विभागले गरिसकेपछि अहिले सबैको आरडिटी गर्ने र आरडिटी पोजेटिभ आएकाहरुको मात्रै पीसीआर गर्ने भन्ने खालको संकोचित निर्देशिका आएको छ । यसले गर्दा सबैको पीसीआर गरेको भए अति उत्तम हुने थियो । तर अब सबैको पीसीआर गर्ने नसक्ने स्थिति देखियो । सुर्खेतको घटनाले आरडिटी प्रतिको विश्वसनियता घट्दै गईरहेको अवस्था छ । यि कुराले थुपै्र चुनौति थप्दै गईरहेको अवस्था छ । आरडिटी नेगेटिभ आएकाहरुको पछि पीसीआर गर्दा पोजेटिभ आयो भन्ने समाचार पनि सुनिएको छ कति सत्य समाचार हो । यो कुराले आरडिटीको विश्वसनियतामा अलिकति कमी ल्यायो यसले गर्दा क्वारेन्टिनमा रहेका व्यक्तिहरु पनि आफु ढुक्क हुने वातावरण नबन्ने र बाहिर समाज पनि ढुक्क र सुरक्षित महशुस गर्न सक्ने वातावरण अलिकति बिलिएको महशुस हामीले गरिरहेका छौँ । अब भारतबाट आउने क्रम अझै चलिरहेको छ । संख्या थपिदै गईरहेको छ यसले गर्दा क्वारेन्टिन व्यवस्थापन गर्नका लागि प्रयाप्त कोठाहरु, भवनहरु लगभग लगभग सबै भरिन थालिसके यसले गर्दा भोली थप संख्याहरु आएको अवस्थामा उहाँहरुलाई राख्ने कोठाहरु नभएपछि कहाँ राख्ने भन्ने चुनौती देखिएको छ । यसको बैकल्पिक उपायहरु पनि हामीले सोचिरहेका छौं । बर्षात सुरु भैसक्यो, प्रतिकुल मौषम, अप्राप्त स्रोतले गर्दा चुनौति झनझन बढ्दै गईरहेको छ । पोजेटिभहरुको संख्या झन्झन् बढ्दै गईरहेको अवस्था छ ।
६. कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि अहिलेसम्म कति खर्च भयो, आर्थिक व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
- अनिवार्य आर्थिक दायित्व आईसकेको बजेटको शिर्षक बाहेक बाँकी सबै शिर्षकहरुलाई हामीले कोभिड–१९ शिर्षकमा रकमान्तर गरि १ करोड ३५ लाख बराबरको बजेट रकमान्तर गरेर कोभिड–१९ कोषमा हामीले जम्मा ग¥याँै । त्यहि कोषमार्फत अहिलेसम्म अति विपन्न श्रमिकहरुलाई राहत, क्वारेन्टिनको व्यवस्थापन, स्वास्थ्य उपकरणहरु, १२ सैयाको आईसोलेसन वार्ड निर्माण र व्यवस्थापन, स्वास्थ्य उपकरणहरु खरिद सम्पूर्ण कुराहरुको व्यवस्थापन गरिरहेका छौँ । प्रदेश सरकारले पनि ७ लाख बराबरको अनुदान पठाएको थियो । यी सबै कुराको व्यवस्थापन गर्दा अब नगरपालिकामा बजेटको अप्राप्तताको अवस्था उत्पन्न भई सकेको छ ।
५. लकडाउनको अवधिमा नगरपालिकामा विकास निर्माणका कामहरु कसरी अगाडि बढिरहेका छन् ?
- बारबर्दियाले तिव्र गतिमा विकास निर्माणका कामहरु अगाढी बढाइरहेको छ । बिशेष गरी सडक, कल्भटहरु, सामुदायिक भवनहरु, विद्यालयका भवन, शौचालयहरु लगायत थुप्रै विकास निर्माणका कामहरु अगाढी बढाइरहेका छौं । सामाजिक दुरी कायम गरेर मजदुरहरुलाई अनिवार्य रुपमा सेनिटाईजर, पञ्जाहरु, माक्स अनिवार्य प्रयोग गरेर विकास निर्माणका कामलाई निरन्तरता दिदै आएका छौं ।
७. आगामी आर्थिक वर्षको बजेटमा नगरपालिकाले कुन–कुन क्षेत्रमा बढी प्राथमिकता दिदै छ ?
- अब आउने बजेटमा बिशेष गरी भौतिक पुर्वाधार विकासमा सडक, पुलपुलेसा, सामाजिक विकासमा स्वास्थ्य शिक्षा, आर्थिक विकासमा स्वरोजगार कार्यक्रम, कृषि, पर्यटन लगायतका कार्यक्रमलाई निरन्तरता दिने सोचेका छौँ । त्यो भित्रको पनि मुख्य प्राथमिकतामा अहिले हामीले कृषि क्षेत्रलाई राखेका छौँ । हाम्रो नगरमा थुप्रै विगाह जग्गा बाँझो रहेको तथ्यांक संकलन गरिसकेका छौँ । बाँझो जग्गा उपयोग कार्यविधि हामीले बनाई सकेका छौँ । अब हाम्रो सभाबाट बाँझो जग्गा उपयोग निति स्वीकृत गर्छौ । त्यो मुक्ताबी अब हामीले बाँझो रहेका जग्गा धनीहरुलाई उत्पादनमा लगाउन केही समय दिन्छौ । यदि उहाँहरुले उत्पादन गर्नुभएन भने बाँझो जग्गालाई नगरपालिका कै स्थानिय कृषिमा उत्पादन कार्य बढाउने गरी अगाडि बढ्छौं । अहिले सबैभन्दा बढी कृषि क्षेत्रका लागि प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम बनाउने सोच बनाएका छौँ । त्यहि अनुसार हिसाबले गृहकार्य गरिरहेका छौँ ।
८. अन्यमा नगरबासीहरुमा के भन्न चाहानुहुन्छ ?
- म नगरबासीहरुमा के अपिल गर्न चाहान्छु भने कोरोनाको संक्रमण रहुञ्जेलसम्म हामी सबै जनाले भौतिक दुरी कायम गर्ने अनुरोध गर्दछु । संक्रमण फैलन नदिनका लागि सतर्कता अपनाउने र सबैले सबैलाई सचेत बनाउने काम भैरहेको छ । ‘क्वारेन्टिन नजिक हुँदैमा बस्ती असुरक्षित हुने होईन त्यसकारणले सुरक्षितका निम्ती नै क्वारेन्टिनमा राखिने हो ।’ त्यसकारण क्वारेन्टिन बनाउन समुदाय नै अगाडी सरी सहयोग गर्नु पर्दछ कुनै ठाँउहरुमा सहयोग भएको पनि छ त्यसकारण नागरिकहरुलाई त्यो खालको सहयोग गर्न म आग्रह गर्न चाहान्छु । सबै आफ्नो खेतीपातीको कामलाई उच्च सतर्कता अपनाउदै, सामाजिक दुरी कायम गरी हामी सबै बचौँ र बचाउ भन्ने भावनाको विकास गर्दै आ–आफ्नो काममा सक्रिय रहन समेत म नगरबासीहरुमा अपिल गर्न चाहान्छु ।








प्रतिक्रिया दिनुहोस्