रावन विश्वकर्मा, बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिकामा आरडीटी पोजेटिभ देखिएका १४ जनाको स्वाब संकलन गरिएको छ । आरडीटी जाँच गर्दा पोजेटिभ देखिएका उनीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि नेपालगञ्ज पठाइएको हो । बाँसगढीमा रहेका क्वारेन्टिनमा रहेका २२९ जनाको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएका १३ जना र एक जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको नगर स्वास्थ्य शाखा बाँसगढीले जनाएको छ ।
स्वाब संकलन गरेर शुक्रबार पीसीआर परीक्षणको लागि भेरी अस्पतालमा रहेको प्रयोगशालामा पठाइएको थियो । शुक्रबार नै अन्य ६५ जनाको आरडीटी जाँच गरिएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । नेरा मावि लक्ष्मणपुर र लालिगुराँस मावि माछागढका ६५ जनाको आरडीटी जाँच गर्दा ३ जनामा पोजेटिभ देखिएको हो । अहिले बाँसगढीमा समेत भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिन बनाएर राखिएको छ । शुक्रबार मात्रै ४१ जना भारतका विभिन्न ठाउँबाट बाँसगढीमा फर्किएका थिए । घर फर्किनेहरुको संख्या बढेसँगै क्वारेन्टिनहरु समेत भरिन थालिसकेका छन् ।
बाँसगढी नगरपालिकाले बनाएका १६ क्वारेन्टिनमा अहिले ८ सय ४१ जना बसिरहेको नगर प्रमुख सालिकराम अधिकारीले जानकारी दिए । लक्ष्मी मावि चेपांगमा ४३, जिवनज्योती मावि राँझामा ३१ , नमुना आधारभुत विद्यालय पिपलचौतारामा ५०, शिव आधारभुत विद्यालय उतरभखारीमा ६४, नेरा मावि लक्ष्मणपुरमा ४३, जनता मावि बठुवामा ५१, अमर शहिद दशरथ चन्द आधारभुत विद्यालय मटेरियामा ६२ र सिद्धार्थ आधारभुत विद्यालय हाउपुरमा ४१ जना रहेका छन् ।
त्यस्तै गरी बाँसगढी बहुमुखी क्याम्पसमा २३, आदर्श मावि मोतिपुरमा ६५, जनप्रिय मावि दमौलीमा ७८, भृकुटी मावि डेउढाकलामा ९६, पुर्णहिला मावि लक्ष्मणमा १६, त्रिभुवन मावि ककौरामा ८७, रामजानकी मावि भैसासुरमा ७२ र लालीगुराँस मावि माछागढमा २० जना गरी कुल ८ सय ४१ जना रहेको स्वास्थ्य शाखा बाँसगढीकी अनमी अञ्जना सुवेदीले बताइन् । क्वारेन्टिनमा रहेकाहरुको १४ दिन पुगेपछि आरडीटी जाँच गर्ने गरिन्छ भने त्यसमा नेगेटिभ आएकालाई घर पठाउने गरिएको छ भने पोजेटिभ आएकालाई स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाउने गरिन्छ ।









प्रतिक्रिया दिनुहोस्