बाँकेमा आइतबार राती भएको सवारी दुर्घटनामा परेर मृत्यु तथा घाइते भएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । दुर्घटनामा परेकाहरु भारतबाट आएकाले कोरोना भाइरसको जोखिम रहेको भन्दै पीसीआर परीक्षण गरिएको थियो । दुर्घटनामा मृत्यु भएका तथा घाइते भएकाहरुमा कोरोना भाइरस भए नभएको पुष्टि गर्न सोमबार बिहान स्वाब सङ्कलन गरेर परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
उनका अनुसार मृतक तथा घाइते सबैको रिपोर्ट नेगेटिभ आएको थियो । परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मृतकलाई आफन्तको जिम्मा लगाइने भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । राप्तीसोनारी गाउँपालिका २ अगैया नजिकै उक्त दुर्घटना भएको थियो । ज्यान गुमाउनेमा ठेगाना नखुलेका निमबहादुर ओली, देउवीर बिक, बुद्धिराम बिक, सीता पुन, पूर्ण बहादुर पुन, रितेश कार्की, रोल्पा थवाङ ३ का भिमबहादुर बिक र नरेन्द्र बिक रहेका छन् ।
त्यसैगरी रोल्पा रुन्चेगढी गाउँपालिका ६ होलेरीका मोहनचन्द्र बिक, दाङ राजपुर गाउँपालिका ६ का रामकुमार पुन, गुराँस नगरपालिका ४ दैलेखका दानबहादुर खड्का र वीरेन्द्रनगर नगरपालिका सुर्खेतका पवन भण्डारीको पनि मृत्यु भएको थियो । खड्का चालक र भण्डारी सहचालक हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । २० जना हट्ने गाडिमा चालक सहचालक र यात्रु गरी ३३ जना सवार थिए । घाइते हुनेमा दाङका ६, रोल्पाका ५ र सल्यानका १० जना रहेका छन् । धरना गाउँपालिका–४ का ४५ वर्षीय मेगराम केसी, राजपुर गाउँपालिका–६ गग्लीखोलाका २० वर्षीय दिपेश चौधरी, तुल्सीपुर उपमहानगरपालिका–२ खैरीकोटका २६ वर्षीय रुपलाल केसी, राजपुर गाउँपालिका–२ रैयनियाका २१ वर्षीय जिवन घर्ती, गढवा गाउँपालिका–६ मननपुरका २० वर्षीय भरत थापा, तुलसीपुर उपमहानगरपालिका २ खैरीकोटका ३९ वर्षीय विष्णु गिरी घाइते भए ।
रोल्पाका त्रिवेणी गाउँपालिका–७ तिनाका १७ वर्षीय सुनील परियार, २० वर्षीय वीरेन्द्र परियार र १८ वर्षीय पुरन परियार, कुरैनी गाउँपालिका डालीमगाउँका ५२ वर्षीय नरबहादुर विक, रुरु–८ का ४० वर्षीय दिलबहादुर विक रहेका छन् । त्यसैगरी सल्यानका घाइते हुनेहरुमा शारदा गाउँपालिका–६ कजेरीका २६ वर्षीय टिका चलाउने, सल्यान कुपनिमा गाउँपालिका–६ घागरीकाराकोटका २० वर्षीय मिनराज विक, सिद्दकुमाख गाउँपालिका–५ दहका ४० वर्षीय तेजबहादुर बुढाथोकी, १८ वर्षीय धनबहादुर बोहरा, सोही गाउँपालिका–४ का २८ वर्षीय लोकेश घर्ती, ५२ वर्षीय दिपबहादुर बुढा, सिद्दकुमाखका २८ वर्षीय शिव भण्डारी, २६ वर्षीय निमबहादुर वली, सिद्दकुमाख–५ का सोही गाउँका १८ वर्षीय देवेन्द्र बुढाथोकी, सोही गाउँका १७ वर्षीय ज्ञानबहादुर बोहरा रहेको प्रहरी जनाएको छ । घाइतेहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्