रावन विश्वकर्मा, बाँसगढी ।
बर्दियाको बाँसगढीमा कोथर्निया लगनिया सिंचाई आयोजनाको शिलान्यास गरिएको छ । नगरपालिकाको वेलवा क्षेत्रका किसानहरुलाई सिंचाईको सुविधा पुर्याउनको लागि उक्त आयोजना निर्माण हुन गइरहेको हो । आयोजना सम्पन्न भएपछि आकाशे पानीको भरमा खेती गर्दै आएका बाँसगढी नगरपालिका २ र ३ का किसानहरुले सिंचाईको सुविधा पाउनेछन् । बेलवा क्षेत्रमा सिचाईको सुविधा नहुँदा आकासे पानीको भरमा खेती गर्नु पर्ने बाध्यता रहेको बाँसगढी वडा नम्बर ३ का अध्यक्ष प्रेमराज पौडेलले जानकारी दिए ।
यो आयोजना निर्माणपछि यहाँका किसानहरुमा खुसी छाउने उनी बताउँछन् । पहिले पनि सिंचाईको योजना परे पनि सफल हुन नसकेको र अहिलेको यो आयोजना सफल र गुणस्तरिय हुनेमा आफु ढुक्क रहेको अध्यक्ष पौडेलको दाबी गरे । बाँसगढी नगरपालिका ३ का अध्यक्ष घमण्ड चन्दले पनि सिंचाई आयोजना निर्माणले किसानहरुमा खुसीयाली छाएको जानकारी दिए । सिंचाई आयोजनाको कुलाबाट निस्कीएको पानीले वेलवा क्षेत्रका ३ सय हेक्टर क्षेत्रफलमा सिंचाई पुग्ने जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बर्दियाका प्रमुख विष्णु पौड्यालले बताए ।
आयोजना निर्माणपछि बाँसगढी नगरपालिका २ र ३ वडाका ३ सय २० घरधुरीका १ हजार ५ सय किसान लाभान्वित हुनेछन् । भ्याट सहित १७ करोड १४ लाख १६ हजार लागतमा निर्माण हुने कोथर्निया लगनिया सिंचाई आयोजनाको गाल्वा मेनका जेभी निर्माण कम्पनीले ठेक्का पाएको छ । ठेक्का मार्फत १ हजार २ सय मिटर, उपभोक्ता मार्फत १ सय मिटर पक्की गरी कुल ३ हजार ५ सय मिटर माटे कुलो निर्माण गरिनेछ । आयोजनाको परम्परागत रुपमा बाँध बाँधी फरुवा बोकेर झाँला पाता हालेर स्थानिय किसान र बाँसगढी नगर प्रमुख सालिकराम अधिकारीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
नगर प्रमुख अधिकारीले किसानहरुको मागलाई सम्बोधन गर्ने गरी सिमित पानीलाई सिंचाईको रुपमा व्यवस्थापन गरिनुपर्ने जोड दिएका थिए । उनले वेलवा क्षेत्रका किसानहरुका लागि सिंचाई आयोजनाको शिलान्यास गरिएकाले यसबाट किसानहरुले प्रतिफल पाउनु पर्ने बताए । ‘किसानहरुको सहमति र एकता भए सिंचाई आयोजना सम्पन्न गर्नेमा बजेटको अभाब हुदैन’ उनले भने, ‘आयोजना सँगसँगै तटबन्धको समेत आवश्यकता हुने देखिन्छ ।’









प्रतिक्रिया दिनुहोस्