नेपालगञ्ज/ बाँकेमा आजदेखि लकडाउन थप कडाई गरिने भएको छ । लकडाउन फितलो भएको गुनासो आएपछि प्रशासनले बुधबार मात्र अर्को सूचना जारी नहुँदासम्म निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी गर्दा पनि लकडाउन उल्लघंन गर्नेहरुको संख्या बढेपछि बाँके प्रशासन आजदेखि कडा रुपमा प्रस्तुत हुन लागेको हो ।
आइतबार निषेधाज्ञा तोड्दै कोहलपुर नेपालगञ्ज लगायतका बजारमा मानिसहरुको भिड देखिएको थियो । लकडाउन र त्यसैमाथि निषेधाज्ञा घोषणा गरेको जिल्लामा सडक सवारी तथा बजारमा मानिसहरुको घुँइचो लागेपछि चौतर्फि प्रशासनको आलोचना भएको थियो । आलोचना बढेपछि आइतबार नै प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ सुरक्षा निकायका प्रमुखसहित सवारी चेकजाँचमा आफै खटिएका थिए । उनले लकडाउनलाई कुनै पनि हालतमा प्रभावकारी बनाउनको लागि सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । सोही अनुसार प्रहरीले लकडाउन उल्लघंन गरेर सवारी चलाउने १ सय ४ वटा सवारी साधनका चाबी नियन्त्रणमा लिएको थियो ।
अब बिहान ११ बजेदेखि अत्यावश्यक काममा जाने बहानामा सवारी चलाउन समेत नपाइने बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए । ‘मोटरसाइकल, स्कुटी वा गाडी चलाएर काम जानेहरुलाई प्रहरीले कारबाही गर्छ’ उनले भने, ‘अब सोमबारदेखि अघिका दिनजस्तो अत्यावश्यक काममा जाने बहानामा सवारी चलाउन पाइदैन ।’ बाँके प्रहरीका अनुसार अब लकडाउन उल्लघंन गरेर चलाउने सवारी साधनलाई नियन्त्रणमा लिएर लकडाउन खुलेपछि मात्रै सवारी धनिको जिम्मा लगाइनेछ । प्रहरी उपरीक्षक ओलीका अनुसार आइतबार मात्र लकडाउन उल्लघंन गर्ने ६३ वटा मोटरसाइकल, ३५ वटा ई–रिक्सा र ६ वटा ट्याक्टरका चाबी नियन्त्रणमा लिइएको थियो ।
सवारी साधन सडकमा चल्न पूर्ण रुपमा रोक लगाउने रणनिती सुरक्षाकर्मीहरुले लिएका छन् । अहिलेसम्म प्रहरीले सवारी साधन चलाएको पाएमा चाबी नियन्त्रणमा लिएपछि साँझ वा भोलीपल्ट दिने गर्दै आएको थियो । आजबाट भने सवारी चलाएको पाइएमा नियन्त्रणमा लिएर लकडाउनपछि मात्रै सवारी धनीलाई सवारी साधन दिनेछ । ‘अब सवारी साधन पूर्णरुपमा रोक लगाउँछौं’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले भने, ‘त्यसरी नियन्त्रणमा लिइएको सवारी साधन लकडाउन खुलेपछि मात्रै दिने रणनीति बनाएका छौं ।’ अध्यावश्यक काम परेकालाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पैदल हिडेर नै जान उनले सुझाव दिए । बाँकेमा कोरोना संक्रमितको संख्या दुई सय नजिक पुग्न लागिसकेको छ भने कोरोना संक्रमणबाट एक युवाको मृत्यु भइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्