कोहलपुर ।
कोरोना भाइरस जोखिम रोकथामका लागि बाँकेको कोहलपुर नगरपालिकामा ५० बेड क्षमताको आइसोलेसन निर्माण गरिने भएको छ । जिल्लाका अन्य स्थानीय तहमा कोरोना संक्रमित बढिरहेको अवस्थामा कोहलपुर समेत उच्च जोखिममा रहेको भन्दै कोरोना संक्रमितको उपचारको लागि आवश्यक ५० बेडको आइसोलेसन निर्माण गरिने भएको हो । बुधबार बसेको कोहलपुर नगरपालिका स्तरीय कोरोना भाइरस रोग नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले आइसोलेसन निर्माणका साथै अन्य निर्णय गरेको थियो ।
समितिको निर्णय अनुसार कोहलपुरमा अब बैंक तथा वित्तीय संस्था, एग्रोभेट सञ्चालनको लागि लागि समय तोकिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले लकडाउनलाई व्यवस्थित, प्रभावकारी बनाउनको लागि कोहलपुरका सम्पूर्ण सरकारी गैरसरकारी तथा बंैक वित्तीय संस्थाहरुलाई सरकारले जारी गरेको निर्देशन अनिवार्य पालना गर्नको लागि आग्रह गरिएको बताए । ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड तथा अन्य स्वास्थ्य सामग्री प्रोटोकल’ अबलम्बन गरि व्यवसाय, व्यापार सञ्चालन गर्ने व्यवस्था मिलाउनको लागि उनले आग्रह गरे । बैठकले गरेको निर्णय अनुसार कोहलपुर क्षेत्रमा रहेका बंैक तथा वीत्तीय संस्थाहरु अब हप्तामा दुइ दिन मात्रै खुल्नुपर्ने छ ।
यस्तै एग्रोभेटहरु प्रत्येक दिन विहान दश बजेदेखि दिउँसो २ बजेसम्म मात्रै खोल्न पाइने निर्णय गरिएको भारतीले बताए । कोहलपुर नगरपालिका भरी खाद्यान्न, तरकारी, डेरी, फलफूल र अन्य व्यवसाय जेष्ठ २० गतेसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए । यसैगरी नगरपालिका क्षेत्रमा सम्भावित कोरोना संक्रमित विरामीहरुका लागि उचित स्थानमा तत्काल ५० बेडको आइसोलेसन निर्माण गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्र सम्भावित कोरोना संक्रमित विरामीका लागि तत्काल औषधि उपचार तथा उद्धारका कार्यका लागि २४ सै घण्टा एक एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्