शुभाकर विश्वकर्मा । कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका–११ लोकनगरकी जैसरा रिजाल ठेलागाडा चलाउँछिन् । उनको प्रमुख आम्दानीको स्रोत नै त्यही व्यवसाय हो । तर विगत दुई महिना यता उनको ठेलागाडा व्यवसाय ठप्प छ । उनको घरमा तीन जनाको परिवार रहेको छ ।
रिजाललाई तीन जनाको परिवार पाल्न नै हम्मेहम्मे परेको छ । उनका अनुसार बैशाखको पहिलो साता वडाले राहत दिएको थियो । अहिले वडाले दिएको राहत सकिएर पनि छिमेकीबाट पैसा सापट मागेर किनेको सबै सकिएको उनले बताइन् ।
उनले वडाबाट १० किलो चामल राहतको रुपमा पाएकी थिइन् । नगरपालिका र वडाले जनताका विषयमा गम्भीर रुपमा नसोचेको खण्डमा रोगले भन्दा भोकले धेरै जना मर्ने रिजालको भनाई रहेको छ । ‘पहिला राम्रोसँग ठेलागाडा चलाउँन दिएनन् । लुकीलुकी गरेको कमाइले चल्यो ।
लकडाउनले सबै बन्द भयो । जिन्दगी नै बन्द होला जस्तो छ’ उनले भनिन् । बुधबार विहान वडा नम्बर ११ को कार्यालयमा आन्दोलनमा सहभागि लोकनगरका अर्का स्थानीय प्रजु थारु वडाले वितरण गरेको राहत अधिकांशले नपाएको बताउँछन् ।
त्यहाँ रहेका करिब २ हजार जना मध्ये करिब २५ प्रतिशतले मात्रै राहत पाएको र अन्यले राहत नपाएको उनले जानकारी दिए । आन्दोलनको लागि आएका अधिकांश स्थानीय कोही एक पटक राहत पाएका र कोही नपाएका रहेको स्थानीय थारुले बताए ।
लोकनगरमा अधिकांश स्थानीय मजदुरी गरि खाने भएको र लामो समयको लकडाउनका कारण समस्यामा परेका कारण वडा कार्यालयबाट राहत पाउनु पर्ने आफूहरुको माग भएको उनको भनाई थियो ।
‘हामी भोकभोकै छौ, वडामा अध्यक्ष ज्युलाई बोलाएका थियौ । उल्टै किन आउने भनेर झपार्नु भयो, त्यही भएर हामी यहाँ आउन बाँध्य भएका हौ’ जनप्रतिनिधिले समेत आफ्ना मागको बेवास्ता गरेको गुनासो गर्दै थारुले भने । वडाले स्थानीयको माग सम्बोधन गरेन भने के गर्नु हुन्छ भन्ने प्रश्नमा थारु भन्छन्, ‘मिडियाले हाम्रो आवाज बोलिदिओस वडाले राहत नदिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ, यहाँ हाम्रो माग सम्बोधन भएन भने नगरपालिका पनि जान्छौ यही हो ।’
जनताका आवाज जसरी पनि राज्य पक्षले सुनुवाई गर्नु पर्ने माग उनको थियो । बुधबार कोहलपुर नगरपालिका वडा नम्बर ११ लोक नगरका बरिक २ सय जनाको हाराहारीमा स्थानीयहरु आएका थिए । उनीहरुको एउटै माग थियो । रोगले भन्दा भोकले मर्ने भयौ हामीलाई राहत चाहियो ।
उक्त आन्दोलनमा सहभागि स्थानीय रामप्रसाद चौधरी प्रधानमन्त्रीले नै रोगले र भोकले कोही पनि मर्दैन भन्ने गरेको भन्दै भोकले मर्न लागेको बेलामा वडाले मागको सम्बोधन गर्नैपर्ने जिकिर गर्छन् । त्यहाँ थारु र दलित समुदायको बाहुल्य रहेको छ ।
त्यहाँका स्थानीयहरु ठेलागाडा, अटो रिक्सा चलाउने र मजदुरी गर्ने गर्छन् । वडा कार्यालयमा लोकनगरका बालबालिका, महिला, पुरुष र बृद्धबृद्धा करिब २ जना भन्दा बढी स्थानीय आएका थिए ।
‘वडा आफैले राहत उपलब्ध गराउन सक्दैन’
यता वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाले वडाले यस अघि राहत वितरण गरिसकेको भन्दै आगामी दिनमा राहत उपलब्ध गराउन सक्ने अवस्थामा नरहेको बताउँछन् । उनका अनुसार वडाको काम जनताको आवाज सुन्ने र प्रभावितको संख्या नगरपालिकामा पठाउने हो, नगरपालिकाले उपलब्ध गराएमा प्रदान गरिने र उपलब्ध नगराए आफूहरुसँग अर्को विकल्प छैन । ‘अब स्थानीयले आन्दोलन गरेर राहत माग गर्नु भएको छ ।
मैले प्रभावितको संख्या ल्याउनु भनेको छु । संख्या आयो भने नगरपालिकामा पेस गर्छु । दियो भने बाँडिदिने हो । नत्र म के गरौ’ अध्यक्ष थापा भन्छन् । यस अघि उक्त टोलमा ३ सय जना भन्दा बढीलाई वडाले राहत वितरण गरेको अध्यक्ष थापाको दाबि रहेको छ ।
‘अब वडाले कहाँबाट उपलब्ध गराउँछ । डाटा ल्याउनु प¥यो । नगरपालिका पेस गरिन्छ । वडाले पैसा दिन सक्छ र, नगरपालिका पेस गर्छ । नगरपालिकाले दियो भने दिन्छ वडाले ।’ उनले सरकारी डाटा अनुसार अहिलेसम्म वडा नम्बर ११ मा १५ सय ८२ जना, क्रिकेट मैदान लगायतका क्षेत्रमा १ हजार भन्दा बढी र सहयोगीहरुको सहयोग ७ जना भन्दा बढीलाई राहत वितरण गरिएको उनको भनाई रहेको छ ।
आफूलाई समस्या भए सिस्टम अनुसार आउनु पर्ने भन्दै लकडाउनको समयमा हुलका हुल मान्छे आएर समस्याको समाधान हुन नसक्ने अध्यक्ष थापाले बताए ।
‘मलाई यसको विषयमा जानकारी छैन’
बुधबार वडा नम्बर ११ लोकनगरका स्थानीयले वडा कार्यालयमा राहतको लागि आन्दोलन गरेको विषयमा आफूलाई जानकारी नभएको भन्दै नगर प्रमुख लुट बहादुर रावतले अनविज्ञता प्रकट गरे । उनका अनुसार आफूलाई स्थानीयले गरेको आन्दोलनको विषयमा आफूलाई अनौपचारिक जानकारी समेत छैन ।
स्थानीयको मागको सम्बन्ध अबको विकल्प के हो भन्ने जिज्ञासामा भने ‘बजेट भरी सबै कोरोनाले खाँदैछ । संकट ल्याउँदैछ, राहत दिने कुरा अब सोचौला । मलाई अहिलेसम्म केही रिपोर्ट गरेका छैनन् क्यारे उहाँहरुले ।’
यस अघि कोहलपुर नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेरै नगरपालिका भरी साढे १ करोडको राहत वितरण गरेको जनाएको थियो ।










प्रतिक्रिया दिनुहोस्