कृष्ण ओली । कोहलपुर ।
दुई महिनादेखि कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि देश लकडाउनमा छ । यो समयमा अत्यावस्यकीय बाहेक अन्य कुनै पनि गतिविधि गर्न पाइदैन । लकडाउनका कारणले अधिकांश क्षेत्र ठप्प रहेका बेला बाँकेमा भने खोलानाला तथा नदी दोहन भने निर्वाध रुपले चलिरहेको छ । बाँकेमा रहेका खोलानाला र राप्ती नदीमा भने अहिले लकडाउनको कुनै पनि अनुभुति गर्न पाइदैन । खोलानाला तथा नदी छेउमा रहेका क्रेसर उद्योगहरु निर्वाध रुपमा चलिरहेका छन् भने नदीजन्य वस्तुको अवैध उत्खनन् खुलेआम भइरहेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुर र स्थानीय सुरक्षाकर्मीको सेटिङमै सबैभन्दा बढी राप्तीसोनारीमा गाउँपालिकामा पर्ने खोलानाला तथा राप्ती नदीमा तस्करहरुले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेका छन् । शनिबार राति राप्तीसोनारी गाउँपालिका २ मा रहेको परुवा र झिझरी खोलाका दोभानबाट अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा स्थानीय र गाउँपालिकाका कर्मचारीले केही टिप्पर र जेसीबी नियन्त्रणमा लिएका थिए । राती करिब १२ बजेको समयमा गाउँपालिकाबाट खटिएका कर्मचारी र राजपुर गाउँका स्थानीयहरुले जेसीबी टिप्पर नियन्त्रणमा लिएका हुन् ।
गाउँपालिकाबाट खटिएका कर्मचारी मनोज ओलीले खोलामा अवैध रुपमा जेसीबी लगाएर उत्खनन् गरिरहेका टिप्पर जेसीबीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । गाउँपालिका कर्मचारी र स्थानीयले पाँच वटा टिप्पर र दुई वटा जेसीबी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । तर प्रहरी चौकी ढकेरी शम्शेरगञ्जले भने एउटा मात्र जेसीबी नियन्त्रणमा लिएर अरुलाई छोडिदिएको गाउँपालिकाका कर्मचारी ओलीले बताए ।
‘हामीले उत्खनन् गरिरहेका दुई जेसीबी, पाँच टिप्पर र चालकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थियौं’ उनले भने, ‘के कारणले उहाँहरुले एउटा मात्र जेसीबी नियन्त्रणमा लिएर अरुलाई छोडिदिनुभयो थाहा भएन ।’ इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दलाई समेत अवैध उत्खनन् गरिरहेका सवारी साधनहरु नियन्त्रणमा लिइएको बारे जानकारी गराइएको उनले बताए । प्रहरी चौकी ढकेरी शम्शेरगञ्जका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) कुमार केसीले आफुहरुले छोडेर नभएर रातको समयमा भागेको बताए । ‘केही सवारी साधन नियन्त्रणमा लिएको खबर आएपछि हामी पुगेका थियौं’ उनले भने, ‘हामीसँग कम जनशक्ति भएका कारणले गर्दा एउटा जेसीबीलाई नियन्त्रणमा लिएर कार्यालय ल्याएका हौं ।’
कम जनशक्ति र रातको समय भएका कारणले गर्दा स्थानीयले बुझाएका सबैलाई कार्यालयमा ल्याउनको नभएको भन्दै असई केसी जिम्मेवारीबाट पन्छिए । नम्बर नभएको जेसीबीलाई कार्यालयमा राखिएको भन्दै कारबाहीको लागि वडा कार्यालयमा पत्र पठाइएको उनले बताए । आफुहरुको सेटिङ्गमा उत्खनन् भइरहेको भन्ने कुरामा कुनै सत्यता नभएको असई केसीले दाबी गरे । ‘अवैध रुपमा उत्खनन् गर्नेलाई कारबाही नगर्ने भन्ने कुरै हुँदैन’ उनले मिसन टुडेको टेलिफोन सम्पर्कमा भने, ‘हामी जाँदा चोरबाटैबाट मेसिन र टिप्परसहित भागिहाल्छन् ।’ अहिले राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्रबाट वैधानिक रुपमा समेत नदीजन्य पदार्थ निकासी गर्न पाइदैन । तर अहिले प्रहरी र केही स्थानीय जनप्रतिनिधीलाई मिलाएर तस्करहरुले धमाधम नदीजन्य पदार्थको अवैध दोहन गरिरहेका छन् ।
लकडाउनको समयमा यहाँका क्रेसर उद्योग तथा केही तस्करहरुले प्रहरीलाई हातमा लिएर खोलानाला तथा राप्ती नदीमा दोहनको आतंक नै मच्चाएका स्थानीय बताउँछन् । ‘हाम्रो तिर त लकडाउनको कुनै मतलब नै छैन’ शम्शेरगञ्जका एक स्थानीय भने, ‘लकडाउन भनेको त हामीजस्ता गरीबहरुलाई मात्र लाग्दो रहेछ । लकडाउनमा पनि टिप्पर आतंकले हामीलाई सास्ती भइसक्यो ।’ स्थानीय भने केही टिप्पर जेसीबीलाई कहिलेकाही प्रहरीले कारबाही गरेको जस्तो देखाएपछि वास्तविक रुपमा भने दोहन झन् तिव्र रुपमा भइरहेको बताउँछन् । खास गरी अहिले इलाका प्रहरी कार्यालय कोहलपुरको मातहत पर्ने क्षेत्रमा खोलानाला तथा नदी दोहन तिव्र रुपमा भइरहेको छ । इलाका प्रहरी कार्यालय अगाडिबाटै रातको समयमा सयौं टिप्परहरु पानी चुहाउँदै ओहोरदोहर गर्ने भएपनि कारबाही दायरामा भने ल्याउन सकेको छैन । यसले पनि खोला दोहन गर्ने तस्करहरुको समुहसँग कोहलपुर प्रहरीको मिलोमतो भएको आशंका गर्न सकिन्छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले अवैध रुपमा उत्खनन् गर्नेहरुसँग मिलोमतो नभएको दाबी गरे । ‘हाम्रो त्यस्तो मिलोमतो थियो भने त खबर हुनेबित्तिकै खोलामा पुग्ने थिएनौं’ उनले भने, ‘हाम्रो जनशक्तिले भ्याएसम्म उत्खनन् रोक्नको लागि लागिरहेको अवस्था छ ।’ शनिबार रातीको घटनामा भने जनशक्ति कम हुँदा सबैलाई नियन्त्रणमा लिन नसकिएको उनले बताए । ‘हाम्रो ठूलो जनशक्ति महामारीमा खटिएको अवस्था छ’ प्रहरी नायब उपरीक्षक चन्दले भने, ‘सबैको सहयोग र सहकार्य भए उत्खनन् रोक्न प्रहरीलाई पनि सहज हुने थियो ।’ माथिबाट नै निर्माण साम्रगी बोकेका सवारी साधन नरोक्ने आदेश नभएकाले सोही अनुसार आफुहरुले समेत काम गरेको उनको भनाई रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्