कोरोनाको ‘हटस्पट’ नरैनापुर, आठ दिनमा यसरी बन्यो ‘हटस्पट’



कोहलपुर ।

बाँकेको नरैनापुर गाउँपालिका पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को ‘हटस्पट’ बनेको छ । शनिबार साँझसम्म गाउँपालिकामा कोरोना संक्रमितको संख्या १ सय १४ जना पुगेको छ । पछिल्लो पटक शनिबार दिउँसो यहाँका २७ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै संक्रमितको संख्या १ सय १४ जना पुगेको हो । सुगम जिल्लाको कर्णाली भनेर चिनिने नरैनापुरमा सबैभन्दा बढी कोरोना संक्रमितहरु भेटिएका छन् ।

पहिलोपटक गत ३ गते नरैनापुरका ८ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । क्वारेन्टिनमा रहेकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा उतीबेला ८ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । पहिलो संक्रमित फेला परेको आठ दिनपछि नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेको हो । शनिबार यही स्थानका २७ जनामा एकैपटक कोरोना संक्रमण पुष्टी भएको थियो । फोकल पर्र्सन श्रेष्ठका अनुसार मदरसामा रहेका ६ जना, वडा नम्बर ३ को नेपाल राष्ट्रिय प्राविमा बसेका १५ जना र वडा नम्बर १ को नेपाल राष्ट्रिय प्राविमा बसेका ६ जना गरी कुल २७ जनामा कोरोना पुष्टी भएको हो ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा २७ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । कोरोना संक्रमित १६ वर्षदेखि ५० वर्षसम्मका पुरुषहरु रहेको उनले बताए । केही दिनअघि मात्र नरैनापुरको दिपेन्द्र प्राविको क्वारेन्टिनमा रहेका एक २५ वर्षिय युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले अधिकांश पुष्टी भएकाहरुको ट्राभल हिस्ट्री भारतबाट आएको पाइएको जानकारी दिए । ‘नरैनापुरका संक्रमितहरु अधिकांश भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन्’ उनले भने, ‘पछिल्लोपटक शनिबार पुष्टी भएकाहरुको कट्याक ट्रेसिङमा जुटेका छौं ।’ कोरोना पुष्टी भएका तीन चार जना बाहेक प्राय सबैजना भारतबाट आएका हुन् । नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेपछि अहिले सबैको ध्यान उतैतिर पुगेको छ । अभाव र समस्यासँग जुधिरहेको नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेपछि स्थानीयहरु भने त्रसित बनेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले कोरोनाको ‘हटस्पट’ बनेका नरैनापुरमा अब कट्याक ट्रेसिङ र स्वाब संकलनको कामलाई तिव्रता दिइने बताए । ‘नरैनापुरलाई पूर्ण रुपमा सिल गरिएको अवस्था छ’ उनले भने, ‘भारतबाट मानिसहरु समेत फर्किरहेको अवस्था देखिन्छ । अब अवस्थालाई नियन्त्रण बाहिर जान दिन सबै जनशक्ति प्रयोग गर्नुपर्ने देखिएको छ ।’ अहिले नरैनापुरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्वास्थ्यकर्मीहरु ठूलो संख्यामा परिचालित भएको अवस्था छ ।

यसैबिच नरैनापुर गाउँपालिकाले अवस्था थप भयावह हुन नदिन उच्चस्तरीय चिकित्सक र सुरक्षाकर्मीको टोली पठाइदिन आग्रह गरेको छ । गाउँपालिकाले शनिबार एक विप्ज्ञती जारी गरेर प्रधानमन्त्री कार्यालय लगायतका सम्बन्धित निकायलाई कोरोना नियन्त्रणको लागि आवश्यक सहयोग माग गरेको हो । अहिलेसम्म भारतबाट आएका र क्वारेन्टिनम राखिएका मात्र स्वाब संकलन गरिएको भन्दै अब सबैको स्वाब परीक्षण गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ११ गते आइतबार