कोहलपुरमा लकडाउन कडाई पसलदेखि बैंकसम्म खोल्न नपाइने



कोहलपुर ।

बाँकेमा कोरोना संक्रमण बढ्दै जान थालेपछि कोहलपुर नगरपालिकामा लकडाउनमा थप कडाई गरिएको छ । यहाँको नरैनापुर गाउँपालिकामा ठूलो संख्यामा कोरोना संक्रमण बढेसँगै कोहलपुरमा समेत जोखिम बढेको भन्दै लकडाउन थप कडाई गर्ने निर्णय भएको हो । आजदेखि केही समयदेखि आंशिक रुपमा खुल्दै आएका उद्योग, व्यापार, व्यवसाय पूर्ण रुपमा बन्द गर्न सम्बन्धित सबैलाई निर्देशन जारी गरिएको छ । मंगलबार नगरपालिकाका अधिकृत अग्निप्रसाद आचार्यद्धारा जारी विज्ञप्तीमा कोहलपुर नगरपालिकामा कोरोना संक्रमणको उच्च जोखिम रहेको बन्दै पूर्ण लकडाउनको पालना गर्नको लागि निर्देशन दिइएको हो ।

यस्तै उक्त विज्ञप्ती मार्फत बाह्य रुपमा सेवा प्रदान गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरु समेत पूर्ण रुपमा बन्द गर्नुपर्ने उल्लेख गरिएको छ । अहिलेको विषम् परिस्थितीलाई मध्यनजर गर्दै नगरपालिकाको अर्को सूचना जारी नहुञ्जेलसम्म सम्पूर्ण क्षेत्र पूर्ण रुपमा लकडाउन गर्न अनुरोध नगरपालिकाले गरेको छ । कोहलपुरमा केही समय यता लकडाउन खुकुलो बनाए लगत्तै मानिसहरुको आवातजावत समेत बढेको थियो । अब नगरपालिकाको उक्त निर्णय पश्चात यहाँका खुद्रा पसलदेखि उद्योग र बैंक समेत खोल्न पाइने छैन । यस्तै नगरबासीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नेपालमा अहिलेसम्म सबै भन्दा बढी कोरोना संक्रमित बाँकेको नरैनापुरमा गाउँपालिकामा देखिएका छन् । जिल्ला सुरक्षा समितिको बैठकले उक्त गाउँपालिका अनिश्चितकालको लागि शिल गरेको छ । भने त्यहाँका कोरोना संक्रमितको उपचार कोहलपुर र नेपालगञ्जमा हुने सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिएका छन् । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले समेत लकडाउनको पूर्ण पालना र सुरक्षित रहन नगरबासीलाई आग्रह गरे ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ७ गते बुधबार