पचास शैयाको बन्दै आइसोलेसन



बर्दिया जिल्लामा पहिलोपटक जिल्ला समन्वय समितिको भवनलाई प्रयोग गरेर अस्थायी आइसोलेसन अस्पताल निर्माण गरिने भएको हो ।

सुदीप अधिकारी । बर्दिया ।

आइसोलेसन कक्ष बनाइने समन्वय समितिको भवन ।

कोरोना संक्रमित विरामीको उपचारलाई मध्यनजर गरि जिल्लाको सदरमुकाम गुलरियामा ५० शैयाको आइसोलेसन कक्ष निर्माण हुने भएको छ । जिल्ला समन्वय समितिको भवनलाई आइसोलेसन कक्षको रुपमा विकास गर्न थालिएको हो । जिल्लामा कोरोना अस्थायी अस्पतालको चौतर्फी माग हुन थालेपछि जिल्ला समन्वय समितिको भवनलाई कोरोना विशेष आइसोलेसन कक्षको रुपमा विकास गर्न लागिएको छ । कोरोनाको संक्रमण दिनानुदिन बढ्दै जान थालेपछि यहाँका जनताले उपचारमा सहजता ल्याउन कोरोना विशेष आइसोलेसन कक्ष निर्माण हुन लागेको हो । आइसोलेसन कक्ष निर्माणका लागि जिल्लाका ८ वटै स्थानिय सरकारले आर्थिक सहयोग गर्ने भएका छन् ।

हाल ८ वटै पालिकाले ५ लाख रुपैँयाका दरले आर्थिक सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएको जिल्ला समन्वय समितिका संयोजक शंकरप्रसाद थारुले बताए । रकम अपुग भए अन्य स्रोत परिचालन गरिने उनले बताएका छन् । आइसोलेसन कक्षमा प्रयोग हुने जनशक्ति तथा स्वास्थ्य सामाग्री स्वास्थ्य कार्यालयबाट उपलब्ध हुने बताइएको छ । सदरमुकाम गुलरियामा आइसोलेसन कक्ष अपुग भए जिल्लाका ३ वटा प्राथमिक स्वास्थ्य चौकीलाई पनि आइसोलेसन कक्षका रुपमा विकास गरिने जिल्ला समन्वय प्रमुख थारुले जानकारी दिए । जिल्लामा सुविधा सम्पन्न आइसोलेसन कक्ष निर्माण हुने भएपछि जिल्लाबासी खुशी भएका छन् ।

छिमेकी जिल्ला बाँकेमा दिनप्रति दिन कोरोना संक्रमित बढ्दै जाँदा र छिमेकी मुलक भारतबाट बर्दियाबासी पनि जिल्ला भित्रिने क्रम बढेसँगै उच्च जोखिममा रहेको बर्दिया जिल्लामा थप समस्या आउन नदिनका लागि कोरोना विशेष उपचार केन्द्र आवश्यक रहेको हुँदा जिल्लामा ५० शैयाको आइसोलेसन कक्ष निर्माण हुन अत्यन्त सुखद भएको जिल्लाबासीले बताएका छन् । यसैगरि जिल्लाको राजापुर नगरपालिकाका स्थानीयबासीले पनि कोरोना विशेष उपचार केन्द्र स्थापनाको माग गरेका छन् । राजापुर नगरपालिका वडा नम्वर ५ की संक्रमित बालिकाको उपचारका क्रममा खजुरा स्थित अस्पतालमा बेड नपाएर दाङ पठाउँदा भर्ना नलिएपछि यहाँका जनता त्रसित एवं आक्रोशित भएका थिए । सो घटना लगत्तै यहाँका जनताले जिल्लामै कोरोना विशेष अस्पताल स्थापना गर्न प्रदेश सरकारसँग माग गर्दै आएका छन् ।

बर्दिया उद्योग वाणिज्य संघ राजापुर, स्थानीय संघ संस्था, सहकारी, युवा क्लव, संचार क्षेत्र लगायत नागरिक समाजले ५ नम्बर प्रदेशका मुख्यमन्त्रीलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत ज्ञापनपत्र पनि बुझाएका छन् । राजापुरकी ११ वर्षीया बालिका संक्रमित हुँदा बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा ठाउँ अभावले दाङमा स्थापित कोरोना उपचार अस्पतालमा उपचारका लागि अनुरोध गर्दा समेत संक्रमण फैलिन सक्ने डरले सम्वन्धित गाउँपालिका अध्यक्षले विज्ञप्ती नै जारी गरी दाङमा उपचारका लागि ल्याउन नमिल्ने जनाएका थिए । अवोध बालिकाको उपचारमा ढिलाइ भएको भन्दै आफुहरुको मन रोएको विज्ञप्तीमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय बर्दिया र स्वास्थ्य कार्यालय बर्दियाले पहल थाल्ने जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ७ गते बुधबार