कोरोना संक्रमणबाट मृत्यु हुने दोस्रो व्यक्ति बाँके नरैनापुरका युवक



कोहलपुर ।

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका एक युवकको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ । आइतबार बिहानै नरैनापुर गाउँपालिका ५ मा रहेको दीपेन्द माविको क्वारेन्टाइन स्थलमा युवकको मृत्यु भएको थियो ।

क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षे युवाको शनिबार संकलन गरिएको स्वाबको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

मृत्यु भएका स्थानीय युवा भारतको मुम्बइबाट आएका थिए । युवा बैशाख ३० गते नेपाल–भारत अबैध नाकाबाट नेपाल प्रवेश गरेका हुन् । गाउँपालिकाले तत्कालै उनीसहित करिव ५ सय ब्यक्तिलाई विभिन्न क्वारेन्टाइनमा राखेको थियो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेको टीमले मृतक युवासहित २ सय ६३ जनाको शनिबार मात्रै स्वाव लिएको थियो ।

स्वास्थ्य कार्यालयका अधिकृत एवं कोेरोनाका फोकलपर्सन श्रेष्ठका अनुसार, २ सय ६३ मध्येमा दिपेन्द्र माविबाट मृतक युवासहित ३९ जनाको शव लिइएको थियो । उनीसहित भारतबाट नेपाल प्रवेश गरेका ब्यक्तिको केहीदिन अघि मात्र पीसिीआर परीक्षण गर्दा नरैनापुरका ८ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नरैनापुर गाउँपालिकाले संचालन गरेको क्वारेन्टाइनमा बसिरहेका युवकको आइतबार निधन भएको हो । उनको मृत्यु भएपछि परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पुष्टि गरेको छ । मृत्यु हुनु अघि अत्याधिक ज्वरो आएको थियो । पछि उनले वान्ता गरेको नरैनापुर गाउँपालिकाका सुचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिए ।

युवकको मृत्युपछि गाउँपालिकाले आकस्मिक बैठक गरेर सुरक्षा व्यवस्थालाई थप बलियो बनाउने प्रयास गरेको छ । सुचना अधिकारी मिश्रका अनुसार स्वास्थ्य कर्मीलाई सर्तक रहन आग्रह गर्दै तीन सदस्यीय स्वास्थ्य कर्मीको बिशेष टिम तयारी गरिएको छ । जसले प्रत्येक समय क्वारेन्टाइनमा बसेका ब्यक्तिलाई सहयोग गर्नेछ ।

गाउँपालिका भएका प्रत्येक क्वारेनटाइनमा एउटा कर्मचारीलाई सुचना संकलन गर्ने र गाउँपालिकामा रहेको २ मध्ये एउटा एम्बुलेन्स क्वारेन्टाइनका लागि मात्र प्रयोग गर्ने निर्णय गरिएको सुचना अधिकारीले मिश्राले जानकारी दिए । भारतबाट आउनेको संख्या बढदै गएपछि बाँकेमा संक्रमणको सम्भावना उच्च देखिएको छ । नरैनापुर भारतसँग जोडिएको गाउँपालिका हो ।

अहिले नरैनापुरमा भारतबाट फर्किएका ७ सय १८ जना क्वारेन्टाइनमा बसिरहेका आइतबार मृत्यु भएको युवक बसिरहेको दीपेन्द माविमा ३९ बसिरहेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

यसअघि शनिवार सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको समेत कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मृत युवा आएको भारतको महाराष्ट्र कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य हो । त्यहाँ कडा खालको कोरोना भाइरस देखिएको चिकित्सकहरु बताउँछन् ।

नरैनापुरमा उच्च सर्तकता

कोरोना संक्रमितका कारण युवाको ज्यान गएपछि बाँकेसहित नरैनापुर क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले युवाको मृत्यु पश्चात नरैनापुर क्षेत्रमा उच्च सर्तकता अपनाइएको जानकारी दिए ।

‘कोरोना संक्रमणका कारण युवाको ज्यान गएपछि हामी सर्तक बनेका छौं’ उनले भने, ‘सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरेर उक्त स्थानलाई सील गरिएको छ ।’ दीपेन्द्र मावि आसपासको क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिनुका साथै सील समेत गरिएको छ ।

शव व्यवस्थापन

मृतकमा कोरोना संक्रमण पुष्टी भएपछि स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधी अनुसार कोरोना संक्रमित मृतकको शव व्यवस्थापन गरिएको छ । शवको ब्यवस्थापन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले आइतबार साँझ नै गरेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले मृतक युवाको उच्च सर्तकताका साथ आइतबार साँझ नै दाहसंस्कार गरिएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधी अनुसार युवाको दाहसंस्कार गरिएको थियो । कोरोना संक्रमितहरुको छिटो भन्दा छिटो तालिमप्राप्त सुरक्षाकर्मी अथवा दक्ष टिमले दाहसंस्कार गर्ने कार्यविधिमा समेटिएको छ ।

नरैनापुरका युवाको शवं व्यवस्थापन गर्नमा समेत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली खटिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ५ गते सोमबार