नेपालगञ्जका थप एकजनामा संक्रमण पुष्टी, कोरोना संक्रमितको संख्या २५ पुग्यो



कोहलपुर ।

बाँकेमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । बुधबार एक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या नेपालगञ्जमा २५ पुगेको हो । उनी नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ८ निवासी हुन् । यस अघि यही टोलमा २४ जना संक्रमित भेटिएका थिए । यो सँगै वडा नम्बर ८ कोरोना संक्रमणको ‘हटस्पट’ जस्तै बनेको छ । साथै बुधबार कोरोना भाइरस पुष्टि भएका युवा बैशाख २७ गते टाँगा स्टेशनबाट स्वाब संकलन गरिएका मध्ये एक भएको पाइएको हो ।

भेरी अस्पतालमा रहेको प्रयोगशालामा स्वाब परीक्षण गरिदैं फाइल फोटो

त्यस दिन टाँगा स्टेशनबाट १ सय ६२ र एकलैनीस्थित जामा मस्जिद् क्षेत्रबाट ७५ गरि जम्मा २ सय ३७ जनाको स्वाब संकलन गरिएको थियो । २७ गते स्वाब संकलन गरिएका २ सय ३७ जना मध्ये १ जनामा मात्र कोरोना भाइरस संक्रमण भएको पुष्टि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकी २ सय ३६ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

‘उनी वडा नम्बर ८ मा स्थायी रुपमा बसोबास गर्दै आएका थिए । अहिले उनको परिवार र टोललाई उच्च निगरानी राखिएको छ’ उनले भने, ‘उनको ट्राभल हिस्ट्री पत्ता लगाएर फेरी स्वाब संकलन गछौँ ।’ यस अघि बाँके जिल्लामा पहिलो पटक बैशाख १९ गते एक ६० वर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । बुधबार थप एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २५ पुगेको हो । फोकल पर्सन श्रेष्ठले उनलाई खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचारका लागि लगिएको बताएका छन् । अन्य नेपालगञ्जका कोरोना संक्रमितहरुको समेत यही आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । जनप्रतिनिधिको रिपोर्ट नेगेटिभ बाँकेमा अहिलेसम्म कोरोना संक्रमण पुष्टि भएका सबै नेपालगञ्ज उप–महानगरका स्थानीय हुन् । कोरोनाको उच्च जोखिम बढ्दै गएपछि यहाँका प्रमुख, उप–प्रमुख देखि सांसदसम्मको स्वाब संकलन गरिएको थियो । उनीहरु सबैको रिपोर्ट समेत नेगेटिभ आएको फोकल पर्सन श्रेष्ठले बताए । नगर प्रमुख डाक्टर धवल शमशेर राणा, उप–प्रमुख उमा थापामगर, प्रदेश सांसद मोहम्मद याकूब अन्सारी, वडा अध्यक्ष र अन्य सदस्यहरुको रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुको बैशाख २८ गते स्वाब सकंलन गरिएको थियो । बुधबार कपिलवस्तुमा समेत एक जना संक्रमित भेटिएका छन् ।

समग्रमा प्रदेश पाँचमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ । त्यसैगरी बाँकेका पाँच पत्रकारको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ । पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुका अनुसार यस अघि चेकजाँच गरेका पाँच पत्रकारको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । बुधबार थप तीन जना पत्रकारको परीक्षणको लागि स्वाब संकलन गरिएको उनले जानकारी दिए । अध्यक्ष थारुले कोरोना संक्रमण चेकजाँचको लागी इच्छुक पत्रकारलाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । नेपाल पत्रकार महासंघ बाँकेले प्रेस बिज्ञप्ति मार्फत केहि दिनयता बाँके जिल्लामा व्यवसायिक पत्रकारहरुलाई बदनाम गराउने गरी भएका बिभिन्न गतिविधिप्रति पत्रकार महासंघ बाँकेको गम्भीर र ध्यानाकर्षण भएको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १ गते बिहीबार