18 September 2024  |   बुधबार, अशोज २, २०८१

बर्दियामा करिब २५ सयको कोरोना परीक्षण, सबैको कोरोना रिपोर्ट नेगेटिभः स्वास्थ्य कार्यालय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २७, २०७७  

रावन विश्वकर्मा । बाँसगढी ।

बर्दियामा २ हजार ३ सय ४५ जनाको कोरोना परीक्षण गरिएको छ । बिहीबार साँझसम्म जिल्लाका ८ स्थानीय तहमा रहेका क्वारेन्टाइन र आइसोलेसनमा रहेका उनीहरुको कोरोना परीक्षण गरीएको हो ।

नेपालगञ्जमा कोरोना परीक्षणको लागि स्वाब संकलन गर्दै चिकित्सक

नमुना संकलन गरेर उनीहरुको आरडीटी र पीसीआर विधिबाट कोरोना परीक्षण गर्न २ हजार ३ सय ४५ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । २ हजार १ सय ५३ जनाको आरडीटी विधिबाट र १ सय ९२ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको उनले बताए ।

उनका अनुसार पीसीआर विधिबाट नमुना परिक्षणका लागि १ सय ८२ जनाको स्वाब संकलन गरी भेरी अस्पताल नेपालगञ्ज पठाईएकोमा १ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको र १२ जनाको आउन बाँकी रहेको छ । बिहिबार मात्रै ३ सय ३१ जनाको आरडीटी विधिबाट दु्रत परिक्षण गरिएको थियो । जसमा गुलरिया नगरपालिकाका १ सय ११ जना, मधुवन नगरपालिकाका ६७ जना, बारबर्दिया नगरपालिकाका ६१ जना, ठाकुरबाबा नगरपालिकाका १२ जना र राजापुर नगरपालिकाका ४२ जना र गेरुवा गाउँपालिकाका ३८ जनाको कोरोना परिक्षण गरिएको हो ।

अहिले जिल्लाका विभिन्न क्वारेन्टाइनमा १ हजार ६ सय १२ जना रहेका छन् । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २४ जना पुगेसँगै बर्दियामा समेत उच्च सर्तकता अपनाइएको छ । लकडाउनलाई थप प्रभावकारी बनाउन जिल्लामा दैनिक उपभोग्य सामाग्री पाईने पसलहरु खोल्ने समय हप्तामा ३ दिन मात्र खोल्न दिइएको छ ।

 

प्रकाशित मितिः शनिबार, बैशाख २७, २०७७     7:27:58 AM  |