7 September 2024  |   शनिबार, भदौ २२, २०८१

प्रदेश ५ को क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्णय, सेना र प्रहरीका अस्पतालमा कोरोनाको उपचार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख २५, २०७७  

कोहलपुर ।

प्रदेश ५ सरकारले कोरोना संक्रमितको उपचारका लागि नेपालगञ्जस्थित नेपाली सेना र नेपाल प्रहरीका अस्पताललाई प्रयोगमा ल्याउने भएको छ । संक्रमितको संख्या बढ्दै गएपछि मुख्यमन्त्री शंकर पोखरेल संयोजकत्वको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ ती अस्पतालहरूलाई कोरोना विशेष अस्पतालको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । बैठकले परीक्षणको दायरा बढाउँदै आवश्यक किट, स्वास्थ्य सामग्री, पर्सनल सेक्युरिटी इक्विपमेन्ट तथा औषधि उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले संयोजन गर्ने निर्णय गरेको छ ।

यस्तै भारतबाट आउनेलाई सिधै आइसोलेसनमा राखी स्वाब संकलनको व्यवस्था मिलाउने र रिपोर्ट पोजिटिभ देखिए कोरोना विशेष अस्पतालमा पु¥याउने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । भारतबाट आउन सक्ने नेपालीलाई लक्ष्यित गरी पहिले निर्णय भएका बाँके र रूपन्देहीका साथै कपिलवस्तुमा समेत थप तीन हजार क्वारेन्टाइन बेड व्यवस्था गरिँदै छ ।

कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोरोना भाइरस कोभिड १९ रोकथाम तथा उपचार कोषबाट गर्ने र त्यसको व्यवस्था मन्त्रालयले मिलाउने बैठकले निर्णय समेत गरेको छ । सेन्टरको बैठकले रोजगारी गुमाएकालाई काम दिने, स्थानीय श्रमिक प्रयोग गरी सञ्चालन गर्न सकिने निर्माण र उत्पादनसँग सम्बन्धित कार्य सञ्चालनका लागि प्रजिअहरूले सहजीकरण गर्ने, दक्ष मजदुरलाई प्रदेशका काममा उपयोग गर्ने र अदक्ष एवं अर्धदक्ष कामदारलाई स्थानीय पालिकाले उपयोग गर्ने निर्णय समेत गरेको थियो ।

निर्माण सामग्रीहरूको ढुवानीका लागि प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्ने उल्लेख छ । यस्तै कृषकका लागि आवश्यक बीउ आयातमा पनि सम्बन्धित पालिकाहरूको सिफारिसमा प्रजिअहरूले सहजीकरण गर्नुपर्नेछ । विद्यालयहरूले सञ्चालन गरेको परीक्षाको नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउने र सञ्चालन नेपाल सरकारबाट भएको निर्णयको आधारमा गरिने सेन्टरको निर्णय छ । प्रदेशमा खुला सीमा धेरै भएकाले सीमाक्षेत्रको सुरक्षासम्बन्धी जनशक्ति, आवश्यक सामग्री र आवासलगायत समस्याबारे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरी कार्ययोजना तयार गर्ने जनाइएको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख २५, २०७७     8:50:08 AM  |