सम्पादकिय : आइसोलेसनको व्यवस्था गरियोस्



नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या थपिने क्रममा रहेको छ । मंगलबारसम्म नेपालगञ्जका २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भइसकेको अवस्था रहेको छ । कोरोना संक्रमण पुष्टी भएकाहरुलाई आइसोलेसन वार्डमा राखेर उपचार गर्नुपर्ने हुन्छ । नेपालगञ्जमा कोरोना संक्रमण पुष्टी भएका २३ जनालाई खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या थपिदै जाँदा आइसोलेसन वार्डको समस्या हुने आंकलन गर्न थालिएको छ । नेपालगञ्जका एक व्यक्तिबाट कोरोना भाइरस समुदायमा सरेपछि संक्रिमतको संख्या बढेर चार दिनको फरकमा २२ जना नयाँ थपिएका थिए ।

मंगलबारसम्मको तथ्यांक अनुसार बाँकेको नेपालगञ्जमा २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ बाँकी नै रहेकाले कोरोना संक्रमितहरुको संख्या अझै बढ्नसक्ने स्वास्थ्यकर्मीहरुले आंकलन गरेका छन् । बाँकेमा कोरोना भाइरस समुदायमा सरेपछि संक्रिमतको संख्या बढेर आइसोलेसन वार्ड अभाव हुन सक्ने भन्दै विकल्पको खोजी सुरु भएको हो । सोमबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल नेपालगञ्ज पुगेरै कोरोनाविरुद्धको तयारी र कोरोना अस्पताल निर्माण गर्न सक्ने स्थानबारे छलफल समेत गरे । बाँके र बर्दियाका कोरोना संक्रमित व्यक्तिहरुलाई खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा राखिन्छ । हाल त्यहाँ २३ जना संक्रमितहरुलाई राखिएका छन् । उक्त अस्पतालमा ४० आइसोलेसन, ३ भेन्टिलेसन र ६ आईसीयू वार्ड रहेका छन् ।

ती पनि अब पर्याप्त हुने देखिदैन । खजुराको क्यान्सर अस्पतालमा आइसोलेसन वार्ड भरिए नेपालगञ्जको धम्बोझी रोडमा रहेको लायन्स क्लबको डेन्टल अस्पतालमा राख्ने व्यवस्था मिलाइएको छ । त्यहाँ २६ वेड बनाइएका छन् । संक्रमित व्यक्तिहरु थपिदै गए नेपालगञ्जका होटेल पनि आइसोलेसन कक्ष बनाउन सकिने यहाँका सरोकारवालाहरुले सुझाव दिएका छन् । अहिलेसम्म बाँकेका विभिन्न अस्पतालमा गरेर १ सय २८ वटा आइसोलेसन वार्ड रहेका छन् । कोरोना संक्रमण पुष्टी हुने क्रम बढे पक्कै पनी यहाँ आइसोलेसन वार्डको अभाव हुने पक्कै पनि देखिन्छ । त्यसैले कोरोना परीक्षणलाई तिव्रता दिनुका साथै जिल्लामा आवश्यकता अनुसार आइसोलेसन वार्डको व्यवस्था गर्नुपर्ने तत्काल आवश्यता देखिन्छ । त्यसो हुन सके कोरोना संक्रमण पुष्टी भएकाहरु राख्न पक्कै पनि सहज हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २४ गते बुधबार