12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

नेपालगञ्जमा निषेधाज्ञा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २३, २०७७  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । १६ जनामा कोरोना संक्रमण पुष्टी भएपछि नेपालगञ्ज क्षेत्रलाई तीन दिन निषेधित क्षेत्र घोषणा गरिएको हो ।
सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको संयोजकत्वमा बसेको सर्वदलिय र सर्वपक्षिय बैठकबाट यस्तो निर्णय गरिएको थियो । बैठकले आज बिहान ११ बजेदेखि बैशाख २५ गते मध्यरातसम्म नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । बैठकमा सहभागि नेपाल कम्प्युनिस्ट पार्टी बाँकेका अध्यक्ष इन्द्रप्रसाद खरेल (आइपी)ले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको बताए ।

कोहलपुरमा प्रवेश गर्ने हवल्दारपुर नाकामा चेकजाँच गर्दै सुरक्षाकर्मी

‘केही दिनको फरकमा १६ जनामा कोरोना संक्रमण पुष्टी भएपछि जोखिम बढेको छ’ उनले भने, ‘सोही कुरालाई ध्यानमा राखेर तीन दिन नेपालगञ्ज क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरिएको हो ।’ उनले निर्णयको सबैलाई पालना गर्न आग्रह समेत गरे । निषेधित क्षेत्र घोषणा गरेको अवधीभर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन कार्यमा खटिने जनशक्ति बाहेक अन्य बाहिर निस्कन पाउँने छैनन् । ‘निषेधित क्षेत्रलाई कडा रुपमा कार्यान्वयन गरिनेछ’ प्रमुख जिल्ला अधिकारी खड्काले भने, ‘अत्यावश्यक केही क्षेत्रका बाहेक अन्य सबैलाई पूर्ण रुपमा आवतजावतमा समेत रोक लगाइनेछ ।

घरबाहिर कसैलाई पनि निस्कन दिइनेछैन ।’ बैठकले सबै संक्रमितहरुको व्यापक रुपमा कन्ट्याक्ट ट्रेसिङ गर्ने निर्णय समेत गरेको नेपाली काँग्रेस बाँकेका युवा नेता सुधान्सु कोइरालाले जानकारी दिए । ‘ट्रेसिङबाट पहिचान गरीएका सभ्भावित व्यक्तिहरुको स्वाब परीक्षण गरिनेछ’ उनले भने, ‘रिपोर्ट कोरोना पोजेटिभ देखिएकालाई सुरक्षित रुपमा आइसोलेसन अस्पतालमा लिने र नेगेटिभ आएकाहरुलाई सुरक्षाको उच्च निगरानी सहित होम क्यारेन्टाइनमा राख्ने निर्णय भएको छ ।’ बैठकले सामाजिक सञ्जाल र मिडियामा तथ्यहिन, भ्रमपूर्ण र सामाजिक तथा धार्मिक सद्भावमा असर पार्ने खालका सामाग्री प्रकाशन, प्रसारण र पोस्ट गर्ने व्यक्तिलाई पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउने निर्णय समेत गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले कोरोना संक्रमणबाट जोगिने भन्दै सडक अवरुद्ध गर्नेहरुलाई कारबाहीको दायरामा ल्याइने बताए । ‘सोमबारको सर्वपक्षिय बैठकले आफ्नो क्षेत्र सुरक्षित पार्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने, राजमार्ग रोक्ने कार्य गर्न नपाइने निर्णय गरेको छ’ उनले भने, ‘कही कतै त्यस्तो कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिनेछ । कोही कसैलाई पनि यस्तो कार्य नगर्न अनुरोध गर्दछु ।’

प्रकाशित मितिः मङ्लबार, बैशाख २३, २०७७     7:44:07 AM  |