कोहलपुर ।
बाँके नेपालगञ्ज उपमहानगरपालिका ६० वर्षिय कोरोना संक्रमित पुरुष भारतबाट आएको पाइएको छ । उनीमा शुक्रबार नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा (पीसीआर टेस्ट) परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । भेरी अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर प्रकाश थापाले नेपालगञ्जको डिएसपी रोडमा घर भएका ती पुरुषलाई शुक्रबार परीक्षणका क्रममा कोरोना संक्रमण भएको देखिएको बताए ।
उनीलाई शुक्रबार नै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लगेका थिए । मोवाइल समेत नभएका उनलाई मोबाइल उपलब्ध गराएर आइसोलेसनमा राखेर सोधपुछ गर्दा उनी दुई महिनाअघि भारतबाट नेपालगञ्ज फर्केको र मदरसामा पढाउँदै आएको खुलेको मेडिकल सुपरिडेन्ट डाक्टर प्रकाश थापाले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीका अनुसार उनी इस्लामिया फैजुलउलम मदरसामा ५ कक्षासम्म पढाउँथे । भारतबाट फर्केर उनले लकडाउन हुँदासम्म पढाइरहेका थिए । लकडाउने मदरसा बन्द भएपछि घरघरमा गएर ट्युसन पढाउँदै आएका थिए । ‘बाहिर ट्युसन पढाउने ठाउँको घर ट्रेसिङ गरिसकेका छौं,’ प्रहरी उपरीक्षक ओलीले भने, ‘उनीहरुको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ ।’ डीएसपी रोडमा घर भएका संक्रमित व्यक्ति वडा नम्बर ८ को महेन्द्रपार्क नजिकै जुलाहनपूर्वामा रहेको मस्जिद र मदरसामा दैनिक आवतजावत गर्थे ।
संक्रमित पुरुषले दुई महिनाअघि नै भारतबाट आएको बताएपनि स्थानीयले भने एक महिनाअघि मात्र भारतको बहराइचबाट आएको जानकारी दिए । जुलाहनपूर्वाका एक स्थानीयले शनिबार दिउँसो पत्रकारसँग भने, ‘उहाँ एक महिनाअघि महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट आउनुभएको हो ।’ उनले महेन्द्रको क्वारेन्टाइनबाट भागेर भने नआएको दाबी गरे । ‘बाहिर भनेजस्तो क्वारेन्टाइनबाट भागेर उहाँ आउनुभएको होइन’ ती स्थानीयले खण्डन गर्दै भने, ‘त्यहाँ रहेका अन्यहरु पनि बाहिर आउन थालेपछि उनीहरुको पछि लागेको उहाँ आउनुभएको हो ।’
एक महिनाअघि नेपालगञ्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका भारतबाट आएका ६ सय भन्दा बढी नेपाली नागरीकहरु सुरक्षा घेरा तोडेर भागेका थिए । जुलाहनपूर्वाका अर्का स्थानीयका अनुसार उनी दैनिक साइकलमा डिएसपी रोडमा रहेको घरबाट जुलाहनपूर्वामा रहेको मस्जिदमा आउने गरेका थिए । केहीबेर मस्जिदमा बसेपछि नजिकै रहेको मदरसामा जान्थे । ‘दैनिक मस्जिदमा आएर आराम गर्न भन्दै मदरसामा जानुहुन्थ्यो’ ती स्थानीय भने, ‘उहाँले त्यहाँका विद्यार्थीहरुलाई भने कहिल्यै पढाउनुभएन ।’ बाँके सुरक्षा स्रोतका अनुसार स्थानीय घरपरिवार र स्वंय संक्रमित व्यक्तिले समेत सूचना लुकाउदा समस्या भएको छ ।
९० जनाको स्वाब संकलन
नेपालगञ्जमा कोरोना भाईरस (कोभिड–१९ ) को संक्रमण भएका ६० वर्षिय पुरुषको प्रत्यक्ष सम्पर्कका आएका ९० जनाको स्वाब संकलन गरिएको छ । शनिबार स्वास्थ्यकर्मीहरुले स्वाब संकलन गरेर कोरोना परीक्षणको लागि भेरी अस्पतालमा रहेको पीसीआर प्रयोगशालामा पठाएका हुन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आएका घरपरिवारका सदस्य, उनले पढाउने विद्यार्थी, हात मिलाएका र प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिको पहिचान गरि स्वाब संकलन गरिएको जानकारी दिए ।
‘संक्रमितको सम्पर्कमा आउन सक्ने थप ब्यक्तिको खोजी भइरहेको छ’ उनले भने, ‘स्वास्थ्यकर्मी र सुरक्षा निकाय यसमा जुटेको अवस्था छ ।’ उनीसँग सम्पर्कमा आउने व्यक्तिहरुको पहिचान गर्ने क्रम अझै पनि जारी रहेको बताउँदै उनले त्यस्ता व्यक्तिहरुको पहिचान भएमा कोरोना परीक्षणको लागि अझै एक हप्तासम्म स्वाब संकलन गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्