बाँके र बर्दियामा कृषि एम्बुलेन्स सेवा



शुभाकर विश्वकर्मा । कोहलपुर ।

बर्दिया बाँसगढी नगरपालिका–८ भैसासुरका किसान गुरिलाल चौधरी काँक्रा खेती गर्छन् ।

यो सिजनमा मात्रै उनले २ बिगाह जमिनमा काँक्रा फलाएका छन् । उक्त खेतीको लागि उनले साढे एक लाख लगानी गरेका थिए । तर एक महिनादेखिको लकडाउनको समस्याका कारण उनको काँक्रा बिक्रि हुन सकेन् ।

चौधरीले प्रति के.जी.१० र थोक मूल्यमा लिनेलाई ७ देखि ८ रुपैयाँमा समेत काँक्रा बिक्रि गर्नुपर्ने बाध्यता आइलाग्यो । बाँसगढीकै दसुराम चौधरीको बारीमा अनुमानित ७ क्विन्टल काँक्रा फलेका छन् । उनले गाउँका अगुवादेखि कृषि मन्त्रीसम्मलाई आफ्नो समस्या सुनाए ।

केही दिन पहिले उनीहरुको समस्याबारे जानकारी पाएपछि कोहलपुरका केही व्यवसायीहरुले बिक्रि नभएर कुहिन लागेको काँक्रा किनेर बिक्रि गरिदिएका थिए । यस्तै बर्दियाको बारबर्दिया नगरपालिकाका किसान पूर्णबहादुर थारु तरकारी खेती गर्छन् । नेपालमा लकडाउन सुरु भएयता उनले दैनिक तरकारी बिक्रि गर्न पाएका छैनन् ।

केही मात्रामा मात्रै बिक्रि हुने भएपनि पहिलाको भन्दा निकै थोरै बिक्रि हुने र अधिकांश कुहिने अवस्थामा रहेको छ । यस्तै कोहलपुरका मौरीपालक किसानहरुको समेत घार स्थान्तरण गरिएको छ । चौधरी र थारु मात्रै होइन बाँके र बर्दियाका किसान यति बेला लकडाउनको प्रत्यक्ष चपेटामा परेका छन् ।

कोरोना भाइरसका कारण एक महिना अघि देखि लागु भएको लकडाउनले उनीहरु जस्तै सयांै किसानहरु प्रभावित भएका हुन् । यस्तै लकडाउनको समस्यामा परेका किसानहरुको उत्पादन बजारीकरण गर्नको लागि प्रदेश ५ सरकारको समन्वयमा कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ ।

बाँके र बर्दिया जिल्लाका किसानहरुको उत्पादन बजारीकरण गर्ने उद्देश्यले भुमि व्यवस्था तथा कृषी सहकारी मन्त्रालय प्रदेश नम्बर ५ को अनुदान सहयोगबाट प्राप्त भएका गाडिलाई प्रयोग गरेर सेवा सुरु गरिएको हो । लामो समयको लकडाउन र किसानहरुको समस्या समाधानको लागि कृषि एम्बुलेन्स सेवा सुरु गरिएको सहकारी संघ प्रदेश नम्बर ५ का अध्यक्ष प्रेम सुवेदीले बताए ।

उनका अनुसार किसानहरुका कृषिजन्य वस्तुहरुको बिक्रि वितरण तथा बजारीकरणको कार्य सञ्चालन गरिएको हो । बैशाख ११ गतेदेखि उक्त सेवा संघले सञ्चालनमा ल्याएको थियो । ‘लकडाउनले विशेषगरि कृषि क्षेत्रमा निकै प्रभाव पार्यो । उत्पादन कुहिने किसानहरु भोक भोकै पर्ने अवस्था आयो । किसानहरुको समस्या समाधानको लागि यस्तो सेवा सुरु गरेका छौ ।

हामी आफैले किसानहरुका उत्पादन लिएर बजारीकरणको लागि हिडेका छौं ।’ बाँकेमा कृषि एम्बुलेन्सको रुपमा मन्त्रालयको ५० प्रतिशत अनुदानमा प्राप्त ३ वटा गाडीहरु प्रयोगमा ल्याइएको उनले बताए । अहिले कृषि एम्बुलेन्स मार्फत किसानहरुले उत्पादन गरेका तरकारीहरु उपभोक्ताहरुका घरमै पु¥याउने व्यवस्था मिलाइएको छ ।

बैशाख ११ गतेदेखी सुरु गरिएको सो एम्बुलेन्स सेवा अन्र्तगत बाँके र बर्दियाका किसानहरुले उत्पादन गरेका टमाटर, खुसार्नी, बोडी, लौका, तितेकरेला लगायतका तरकारीहरु अहिले बजारमा बिक्रि वितरण भइरहेको छ । कृषि एम्बुलेन्स सेवाले किसान र उपभोक्ताहरुमा निकै राम्रो प्रभाव पर्नुका साथै सहज भएकोले आगामी दिनमा पनि यस्तो सेवालाई निरन्तरता दिइने अध्यक्ष सुवेदीले बताए ।

अहिलेसम्म बाँके र बर्दिया जिल्लाका १० जना व्यवासायिक किसान र करिब ५० जना फुटकर व्यवसायीहरु लाभान्वित भएको बताइएको छ । संघको समन्वयमा प्रदेश भरि ४४ वटा गाडिहरु कृषि एम्बुलेन्सहरु सञ्चालनमा रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख १८ गते बिहीबार