18 September 2024  |   बुधबार, अशोज २, २०८१

बाँकेमा सर्वदलिय बैठकको निर्णयः अब सर्वदलीय संयन्त्र मार्फत राहत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १८, २०७७  

कोहलपुर ।

बाँकेमा राहत वितरणको लागि स्थानीय स्तरमा सर्वदलीय संयन्त्र निर्माण हुने भएको छ ।

बाँकेमा रहेका विभिन्न राजनितिक दलहरुको बैठकले सर्वदलिय बैठकले बुधबार यस्तो निर्णय गरेको हो । नेपालगञ्ज स्थित नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयमा बसेको सर्वदलिय बैठकले राहत वितरणको लागि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र निर्माण गर्ने लगायतका निर्णय गरेको थियो ।

बैठकमा नेकपा बाँके अध्यक्ष इन्द्रप्रसाद खरेल (आइपी), नेपाली काँग्रेस बाँके सभापति किरण कोइराला, नेकपा बाँकेका सचिव अशोक कोइराला, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जगदिश ढकाल, जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्धिन राई र नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाको उपस्थिती रहेको थियो ।

अबदेखि जिल्लामा राहत वितरण गर्दा सरकारले निर्देशित गरेको एकद्धार प्रणालीबाट गर्ने बैठकले निर्णय गरेको हो । स्थानीय तहमा राहत वितरणको लागि सर्वदलिय संयन्त्र बनाई राहत पाउने व्यक्तिहरुको पहिचान गरी वितरणको व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको नेकपा बाँके अध्यक्ष आइपीले जानकारी दिए ।

‘राहत वितरणको लागि स्थानीय तह र वडा स्तरमा सर्वदलिय संयन्त्र बनाउने निर्णय भएको छ’ उनले भने, ‘उक्त संयन्त्रमा त्यहाँ क्रियाशिल राजनितिक दलका प्रतिनिधीहरुको सहभागिता हुन्छ ।’ लकडाउनको पूर्ण पालनाको लागि समेत जिल्लाबासीलाई अनुरोध गर्दैै थप प्रभावकारी बनाउन स्थानीय प्रशासनलाई अनुरोध बैठकले गरेको छ ।

बैठकले जिल्लाका लागि आवश्यक पर्ने विभिन्न स्वास्थ्य साम्रगीहरु माग गर्ने निर्णय समेत गरेको नेकपाका अध्यक्ष आइपीले बताए । ‘कोरोना रोकथामका लागि आवश्यक पर्ने थप स्वास्थ्य सामग्रीहरु भिटिएम, पीसीआर, आरडिटी किट लगायतहरु प्रदेश र केन्द्र सरकारसँग माग गर्ने निर्णय भएको छ’ उनले भने ।

लकडाउनको आधारभुत मापदण्ड पुरा गर्दै विकास निर्माणका काम सञ्चालन गर्न बैठकले स्थानीय प्रशासन र स्थानीय तहलाई समेत अनुरोध गर्ने निर्णय गरेको थियो ।

कोरोना भाईरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन जिल्लामा अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधी लगायत सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरिएको नेपाली काँग्रेस बाँके सभापति कोइरालाले जानकारी दिइन् ।

प्रकाशित मितिः बिहिबार, बैशाख १८, २०७७     8:40:12 AM  |