शुभाकर विश्वकर्मा । कोहलपुर ।
बाँके कोहलपुरको प्रचण्ड गर्मी । सुनसान वातावरण । रत्न राजमार्ग नजिकै रहेको एनटिभि रोड नजिकै भित्रि बाटोमा सानो कटेरो छ । टिनले छाएको छानो कोठाभित्र ह्विलचियरमा बसिरहेकी थिइन्, प्रकृति चन्द । उता पट्टी बसिरहेकी थिइन्, उनकी आमा अर्थात भगवती
शाही । प्रकृति नजिकै उनलाई स्याहार गरिरहेकी छन् । दिदि पुष्पाले । ‘काठमाडौँबाट आएको एक महिना भयो । दैनिकी पढ्दै, गेम खेल्दै बित्छ । कहिलेकाँही घाउ दुख्छ’ प्रकृति बोलिन् ।
चार महिना काठमाडौँस्थित वि एण्ड वि हस्पिटलमा उपचारपछि चैत्र ५ गते कोहलपुर घरमा आएकी थिइन् उनी । ४ महिना अघिकी प्रकृति र अहिलेको प्रकृतिमा निकै फरक छ । उनलाई अहिले नियतीले ह्विरचियरको साहारामा बस्ने बनाइदिएको छ । गत मंसिर २२ गते विद्यालय जाने क्रममा उनलाई ट्रकले किचेको थियो । सोही दुर्घटनाका कारण उनले दुवै खुट्टा गुमाउनु परेको छ । पूर्णरुपमा अपांग भएकी छन् प्रकृति । यताउता आउन÷जान, शौच गर्न र अन्य कठिन काम गर्नको लागि अरुको भर पर्नुपर्छ । नियतीको खेलले परनिर्भर बनाइदिएको छ । एक महिना देखिको लकडाउनका कारण एनटिभि रोड स्थित सानो पसलमा दैनिकी गुजारा गरिरहेका प्रकृतिका परिवारको रोजीरोटी नै खोसिएको छ । ५ जनाको उनको परिवारको मुख्य आयस्रोत नै त्यही व्यवसाय हो ।
तर एक महिनादेखि त्यो पनि बन्द जस्तै छ । मुख्य आयस्रोतको रुपमा रहेको उक्त व्यवसाय लकडाउनका कारण बन्द भएपछि एकातिर प्रकृतिको उपचारको बाटो बन्द भएको छ भने घरपरिवारमा समेत दैनिकी चलाउन निकै हम्मेहम्मे भएको छ । ‘उताबाट आउँदा अलिअलि औषधि दिएको थियो । त्यो सकिएको पनि हप्ता दिन भन्दा बढी भइसक्यो । अहिले स्थानीय मेडिकलबाट औषधि ल्याएर घाउमा ड्रेसिङ गर्ने काम भइरहेको छ’ प्रकृतिकी आमा भगवतीले भनिन् । उनले हस्पिटलले बैशाख ४ गते थप अपरेसनको लागि बोलाएको भएपनि लकडाउनका कारण जान नपाइएको बताइन् ।
भगवतीका अनुसार औषधि सकिएका कारण काटिएका दुबै खुट्टाका घाउमा हड्डी पलाउन थालेको छ । दुर्घटनाका कारण आफ्नो प्राण भन्दा प्यारी छोरीले खुट्टा गुमाउँदा मर्माहत भएकी उनी थप दुःख सहन सक्ने अवस्थामा छैनन् । ‘एकचोटी मेरो छोरीले दुःख पाइसकेकी छ । फेरी उसलाई म दुःख दिन चाहन्न । आफू मरेर किन नहोस । अब छोरीलाई सन्चो बनाउन चाहान्छु’ उनले भनिन् । सानो व्यवसाय गर्ने उनको परिवारको मात्रै प्रकृतिको उपचारको लागि ३ लाख बढी खर्च भइसकेको छ ।
आमा भगवतीका अनुसार अहिलेसम्म प्रकृतिको उपचारमा २० लाख बढी खर्च भइसकेको छ । बाँकी उपचार खर्च भने ट्रक मालिकले तिरेको छ । अझै प्रकृतिको उपचारमा ५ देखि १० लाख लाग्ने चिकित्सकले बताएका छन् । अब उनको अन्तिम अप्रेसन बाँकी छ । काटिएका दुवै खुट्टाको अप्रेसन गर्नु पर्ने अवस्था रहेको आमा भगवतीले बताइन् । हस्पिटलले दिएको औषधि सकिएका कारण मेडिकलबाट औषधि ल्याउँदै काम चलिरहेको छ । दैनिक तीन सय रुपैयाँ खर्च हुने गरेको उनको भनाई छ । लकडाउनका कारण व्यवसाय समेत पूर्ण रुपमा ढप्प भएकोले त्यही रुपैयाँ समेत जोहो गर्न निकै मुस्किल परेको छ । ‘कहिले लकडाउन खुल्ने होला । छिटो काठमाडौँ लैजान पाए राम्रो हुने थियो’ मिसन टुडेसँग कुरा गर्दै उनले भनिन् ।









प्रतिक्रिया दिनुहोस्