7 September 2024  |   शनिबार, भदौ २२, २०८१

लकडाउनमा वन तस्कर सक्रिय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १२, २०७७  

सुदीप अधिकारी । बर्दिया ।

लकडाउनको मौका छोपेर निकुञ्ज तथा सामुदायिक वन फडानीमा तस्करको समूह सक्रिय भएको छ । तस्करको समूहले यसैसाता निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बारबार्दिया नगरपालिकाको ढकैला र कतर्निया मध्यवर्ती सामुदायिक वनमा २२ वटा रुख ढालेका छन् । वन तस्करको समूहले कतर्निया र ढकेला गाउँ जोडने बाटोमा विभिन्न जातका २२ वटा रुख ढालेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज र नेपाली सेना शिवदल गणको संयुक्त गस्ती टोलीले अवैधरुपमा रुख कटान गरेको अभियोगमा बारबर्दिया–९ का एक जनालाई पक्राउ गरेको छ । तस्करीमा संलग्न अन्य व्यक्तिहरु फरार रहेको निकुञ्जले जनाएको छ । पक्राउ परेका एक जनालाई निकुञ्जको मुख्यालय ठाकुरद्धारामा ल्याई कानुनी प्रकृया अघि बढाइएको बताइएको छ । फरार तस्करहरुको खोजाी भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए ।

तस्करहरुले प्रयोग गरेको एउटा अटो रिक्सा पनि निकुञ्जले बरामद गरेको जनाएको छ । यसैगरि निकुञ्ज भित्र अवैधरुपमा प्रवेश गरेकालाई सोधपुछ गर्ने क्रममा निकुञ्जका कर्मचारीसँग धम्कीपूर्ण व्यवहार गर्ने ठाकुरबाबा–१ भुरिगाउँका २ जनालाई नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ । निकुञ्जले नियन्त्रणमा लिएको मुलुकमा लकडाउन सुरु भएयता निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका वनमा तस्कर सलबलाउन थालेपछि निकुञ्जले पनि सुरक्षामा कडाइ गरेको छ । लकडाउनको बेला बर्दिया राष्ट्रिय निकुञ्जले सुरक्षा गस्तीलाई झनै चुस्त बनाएपछि तस्करहरु पनि धमाधम पक्राउ पर्न थालेका छन् ।

लकडाउन भएयता निकुञ्जले ३७ जना तस्करहरुलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका सबै निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका विभिन्न स्थानमा वन तथा वन्यजन्तुका अवैध क्रियाकलापमा संलग्न रहेको पाइएको निकुञ्ज स्रोतले जनाएको छ । नदी खोलामा विषादी प्रयोग गरि माछा मार्ने, जाल हान्ने, वन्यजन्तुको शिकार गर्ने, रुख काटने, गोलिया काठ तस्करी गर्ने लगाएतका अवैध क्रियाकलापमा संलग्न भएकाहरुलाई पक्राउ गरि कानुनी प्रकृया अघि बढाइएको र फरारहरुको खोजी भइरहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जमा वन्यजन्तुका तस्करहरु सक्रिय हुन थालेपछि निकुञ्जले पनि सुरक्षा सर्तकता पनि बढाएको छ । वन्यजन्तुको तस्करीलाई रोक्न निकुञ्ज प्रशासनले यतीखेर सेना र निकुञ्जका कर्मचारी परिचालन गरि निकुञ्ज भित्र स्विप अपरेशन, पेट्रोलिङ, एम्बुसिङ र क्यामेरा ट्रयापिङ जस्ता कार्यलाई प्रभावकारी ढंगले अघि बढाएको निकुञ्जले जनाएको छ । वन्यजन्तुको चोरीशिकारको आरोपमा फरार रहेका व्यक्तिहरु पनि गाउँ आएको हुँदा तिनैबाट वन्यजन्तुको सुरक्षामा चुनौती देखिएको प्रमुख संरक्षण अधिकृत बराल बताउँछन् ।

प्रकाशित मितिः शुक्रबार, बैशाख १२, २०७७     8:19:38 AM  |