लकडाउनको मारमा कुखुरापालक किसान, ‘लाखौँ लगानी, बालुवामा पानी’



कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–९ का कुखुरा पालक किसान पल बहादुर के.सी अहिले निकै तनावमा छन् । केही वर्ष देखि कुखुरा पालन गरेर जिविकोपार्जन गर्दै आएका के.सी.लाई फर्ममा भएका कुखुरा कसरी बचाउने चिन्ताले सताउँछ । एक महिनादेखिको निरन्तरको लकडाउनका कारण दाना नपाएका कुखुरा छटपटाइरहेका कारण उनलाई समस्या भएको हो । उनको फर्ममा अहिले १ हजार ८ सय कुखुरा थिए । लकडाउनकै खाना अभाव र खपत नभएकै कारण ५ सय मरे ।

कोरोनाको डरले फे्रस हाउसवालाले कुखुरा लिनै मान्दैनन् । दाना आयात हुन नसकेकाले दिनप्रतिदिन मरिरहेका छन् । ‘आम्दानीको त कुरो नगरौ करिब ५ लाख जति घाटा भइसक्यो’ भावुक हुदैँ उनले भने । सोही ठाउँकै झम्पा गौतमले पनि गत वर्षको माघ महिनामा १ हजार २ सय चल्ला खरिद् गरेकी थिइन् । निकै दुःख गरेर हुकाईन, बढाइन् । बेच्ने बेला कुखुरा लकडाउनले रोकिदियो । कुखुरा बेच्न नपाएपछि यतिबेला उनी पीडामा छिन् । ‘लकडाउनका कारण कुुखरा बाहिर पठाउन नसक्दा उनका पनि ३ सय वटा कुखुरा मरे । कुखुरा मरेपछि करिब १ लाख ८० हजार घाटा भएको छ । अझै लकडाउन लम्बियो भनेत बिजोग नै हुन्छ हाम्रो ।

प्रति के.जी. १ सय ७० रुपैयाँमा बिक्रि गर्दा समेत कुखुरा किन्ने मानिस नै आउँछैनन्’ गौतमले भनिन् । प्रतिकिलो १ सय ७० मा बेच्दा पनि मुस्किल भयो । कुखुरा कटाउन सक्ने अवस्था छैन, यसपटकको लगानी बालुवामा पानी भयो । गौतमले भनिन् । उनका अनुसार केही आम्दानी होला, घर खर्च चलाउँला भन्दै गरिएको लगानीमा बालुवामा पानी जस्तै भएको छ । अर्का कुखुरा पालक किसान शेर बहादुर खड्काको पनि अवस्था के.सी. र गौतमको भन्दा फरक छैन । उनले कुखुरा व्यवसाय थालेको मात्रै १३ वर्ष भयो । अहिले लकडाउन कै कारण निकै घाटा व्यहोर्नु परेको उनले बताए । गत फागुन महिनामा ५ सय १० वटा कुखुरा किनेका उनका लकडाउनको एक महिनाको अवधिमा गर्मी र दाना अभावका कारण २ सय ४० कुखुरा मरेको खड्काले जानकारी दिए ।

उनले पनि यो अवधिमा मात्रै १ लाख १० हजारको घाटा व्यहोरेका छन् । यी त प्रतिनिधि पात्र मात्र हुन् । कोरोना भाइरसका कारण्ण गरिबाँकेका उको लकडाउनका कारण बाँके जिल्लाका अधिकांश किसानहरु मर्कामा परेका छन् । यता बाँकेमा कुखुराको दाना तथा बजार व्यवस्थापन गरिरहेको न्यु भेरी पोल्ट्री सप्लायर्सले खुकुरा बाहिर जिल्लाहरुमा पठाउन नसकिएका कारण समस्या भएको जनाएको छ । सप्लायर्सका प्रमुख प्रदिप कडेलका अनुसार अहिले साना कुखुरा व्यवसायीहरुले प्रति के.जी. १ सय ५० रुपैयाँमा बिक्रि समेत किन्ने मान्छे भेटाउन मुस्किल छ ।

उनले लकडाउन अघि बजारमा दैनिक २० देखी २५ क्वीन्टल सम्म मासु खपत हुने गरेकोमा अहिले मुस्किलले १ क्वीन्टल खपत हुने गरेको जानकारी दिए । ‘अहिले किसानहरु निकै मर्कामा छन । अहिले कुनै पनि किसानले कुखुराका चल्ला नहालेका कारण पछि कुखुराको मासु नै पाउन मुस्किल हुने सम्भावना छ । लकडाउन अझै बढेमा मासूको तीव्र अभावको समस्या हुने निश्चित छ’ कँडेलले भने । बाँके जिल्ला करिब ३० प्रतिशत आम्दानीमा गिरावट आएको उनीहरुको भनाई छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख १२ गते शुक्रबार