कालोबजारी गर्ने लाईफ केयरलाई जरिवाना



नेपालगञ्ज ।

ग्राहकलाई बढी मूल्यमा इन्फा रेट थर्मोमिटर बिक्रि बितरण गर्ने बाँकेको नेपालगञ्जस्थित लाईफ केयर सर्जिकललाई जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले गरेको अनुगमनका क्रममा कानूनले तोके भन्दा बढी मुनाफा लिई इन्फा रेट थर्मोमिटर बेचेको पाईएपछि लाईफ केयरलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को ३८ को खण्ड ९ ङ बमोजिमको कसुर गरेको देखिएकोले सोहि ऐनको दफा ३९ को उपदफा १ को खण्ड ९ ख बमोजिम बुधबार जरिवाना गरिएको थियो ।

६ हजारमा खरिद गरेको इन्फा रेट थर्मो मिटरलाई कालो बजारी गरि १० हजारसम्ममा बिक्रि बितरण गरेको पाईएको अनुगमन संलग्न उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतमले बताए ।

अनुगमन टोलीले उक्त लाईफ केयरलाई खरिद मूल्यमा अधिकतम बिस प्रतिशत भन्दा बढी मुनाफा नलिई बिक्रि गर्न र औषधी ब्यवस्था बिभागले सिफारिस गरेको मूल्य भन्दा बढीमा सेनिटाईजर बिक्रि नगर्न आदेश दिएको बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।

अनुगमनमा औषधी ब्यवस्था बिभाग नेपालगञ्जका फार्मेसी सुपरभाईजर लोकेश गिरी, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ अधिकृत गणेश कार्की, प्रहरी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ११ गते बिहीबार