कोहलपुर ।
नोवेल कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी रुपमा फैलिरहेको संक्रमणको महामारीलाई नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनबाट दैनिक गुजारा गर्ने अति विपन्न तथा ज्यालादारी मानिसहरुका वितरण गरिने राहत संकलन हुने क्रम जारी रहेको छ ।
कोहलपुर नगरपालिकाले स्थापना गरेको विपत् राहत व्यवस्थापन कोषमा हाल सम्म ६ लाख २६ हजार २ सय ४४ रुपैयाँ नगद तथा अन्य विभिन्न खाद्य तथा अखाद्य सामग्रीहरु प्राप्त भएको नगरपालिकाले जनाएको छ र विहीबार मात्र एन.एम.बि बैंक कोहलपुर शाखाले १ हजार केजी चामल, एक सय केजी दाल, १ सय ४० लिटर तेल र ४० पोका नुन राहत समग्रीको रुपमा कोहलपुर नगरपालिकालाई उपलब्ध गराएको
छ ।
बिहीबार नै कोहलपुर नगरपालिका –२ मा रहेको जनएकता सामुदायिक वनको तर्फबाट राहत कोषमा १० हजारको चेक मार्फत सहयोग गरेको नगरपालिकाले जनाएको हो । उक्त चेक कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतलाई हस्तान्तरण गरिएको थियो । त्यस्तै शुक्रबार कोहलपुर नपा–९ मा रहेको पि.बि.टि. वेष्ट इण्डस्ट्रिज प्रा.ली.को तर्फबाट सिमनाथ कडेलले ५६ हजार ४ सय रुपैयाँ बराबरको ३ सय केजी चक्की आटा,बेन्जन चिउरा ६० केजी, सोयाबिन ८ कार्टुन,मसुरको दाल ६० केजी र ६० पोका किरण तेल कोहलपुर नगरपालिकामा जम्मा गरेका छन् ।
राहत सामग्री बुझ्दै कोहलपुर नगरपालिका प्रमुख रावतले राहत उपलब्ध गराउने सो कम्पनीका प्रतिनिधिहरुलाई विशेष धन्यवाद दिदै भने , ‘सरकारले निर्धारण गरेको एकद्वार प्रणाली अनुसार कुनै पनि व्यक्ति वा संस्थाले कोहलपुर नगरपालिकामा नै राहत जम्मा गर्ने र अति विपन्न परिवारको पहिचान गरी नगरपालिकाले सम्बन्धित वडाको सिफारिसका आधारमा राहत वितरण गर्ने हो , सरकारको यो नीतिलाई राम्रो सँग बुझेर राहत जम्मा गर्नु भएकोमा म अत्यन्तै खुशी छु र यस्तै सहयोगी मनकारी मानिसहरुले उलपब्ध गराएको राहत हामीले विपन्न परिवारहरुलाई बाँड्ने हो ।’
साथै नगरप्रमुख रावतले देशमा लकडाउनको अवस्था अझै लम्बिन सक्ने संभावना रहेको र त्यसले सृजना गर्न सक्ने अवस्थामा कोहलपुर नगरपालिकाका स्थानीय जनताहरुलाई रोग सँग सँगै भोकबाट पनि बचाउनु पर्ने अवस्थामा यस्तौ सहयोगी दाताहरुबाट प्राप्त राहतले ठूलो मद्दत गर्न सक्ने बताए । मनकारी व्यक्ति वा संस्थाहरुलाई मानवीय कार्यमा आफूले सक्ने नगद तथा जिन्सी कोहलपुर नगरपालिकाको राहत कोषमा जम्मा गर्न आग्रह समेत गरे ।









प्रतिक्रिया दिनुहोस्