कोहलपुरका गाउँगाउँमा कोरोना सन्देश: ‘बाटोबाटै बोलाउनु, घरभित्र नआउनु’



शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोरोना भाइरस (कोभिड–१९)बाट बच्न बाँके कोहलपुरका स्थानीयले अनेक जुक्ति निकाल्न थालेका छन् । विश्वभरिनै महामारीको रुपमा फैलिएको कोरोनाबाट बच्न र संक्रमण रोक्न यहाँका नागरिकहरुले भिन्न खालको अभ्यास गरिरहेका छन्् ।

१५ वटा वडा रहेको कोहलपुरका विभिन्न वडाका स्थानीयको अगुवाईमा गाउँ प्रवेश निषेध देखि जरुरी काम नभई घर भित्र समेत नपस्न सूचना नै टाँस गरिएको छ ।

कोहलपुर नगरपालिका,२ बर्दहवामा नयाँ मान्छेलाई छिर्न नदिनको लागि विभिन्न गाउँ तथा टोलमा बार लगाइएको छ । स्थानीयको अगुवाईमा सुरु गरिएको उक्त कार्यका लागि स्वयमसेवक समेत खटिएका छन् ।

उक्त बस्तीमा प्रवेश गर्ने जोसुकैलाई कुन प्रयोजनले आएको हो सोध्ने गरिएको छ । यस्तै कोहलपुर नगरपालिका, १२ को सुन्दरबस्तीका घरमा कोरोना भाइरस संक्रमण जोखिम रहेको भन्दै काम भए बाटोबाटै बोलाउन र घरभित्र नपस्न भन्दै सूचना नै टाँसिएको छ ।

सुन्दरबस्ती टोल आर्थिक तथा शैक्षिक रुपमा पछि रहेका बादी तथा गन्धर्व बसोबास गर्ने समुदाय हो ।

सरकारले तीन सातादेखि जारी गरेको लकडाउनको मारमा सबै भन्दा बढी उनीहरु नै परेका छन् । तर कोरोनाबाट बच्नको लागि गज्जबको तरिका अपनाएको देख्न सकिन्छ ।

उक्त बस्तीका घरघरमा नोबेल कोरोना भाइरसका कारण एक घरदेखि अर्को घरमा जान निषेध गरिएको छ ।

‘काम परे बाटोबाटै बोलाउनुहोस् धन्यवाद । आफू बचौ र अरुलाई पनि बचाऔँ’ भन्ने जनचेतनामुलक सन्देश टाँसिएको छ । यो सन्देश रेनुका बइगरका छोराले बनाएका हुन् । ‘छोराले मेरो घरमा बनाएको थियो, पछि मान्छेहरु आउँदा यो सन्देश पढ्न थाले, निकै उपयुक्त भएको प्रतिक्रिया दिन थाले’ उनीले भनिन् । उनकै घरको सिको गरेर अन्य गाउँलेले समेत यस्तै तरिका अपनाएका छन् ।

उक्त बस्तीमा अहिले अत्यावश्यक काम बाहेक अरु बेला एक घरबाट अर्को घरमा जान दिएको छैन् । उनले आफ्नो घरमा कोही आएको भएपनि सामाजिक दुरी कायम गरेर मात्रै बस्ने गरेको बताइन् । अर्की स्थानीय सरस्वती सुनार आफू पनि अरुका घरमा नजाने र आफू समेत अरुको घरमा नजाने बताउँछिन् । उनका अनुसार कोरोना भाइरसबाट बच्नको लागि यस्तो उपाय अपनाइएको हो ।

सबैलाई सरकारले लगाएतकोे लकडाउनको पालना गर्न समेत उनले आग्रह गरिन् । ‘यहाँ त गाउँलेहरु छिटफुट बाहेक अरुले पालना गरेको देखिदैन’ उनले भनिन्, ‘सबैले आफ्नो र समुदायको सुरक्षाको लागि एकजुट हुनुपर्छ ।’ यस्तै कोहलपुर नगरपालिका पार्वतीपुरगाउँमा युवाहरू मिलेर पूरै गाउँलाई होम क्वारेन्टाइनजस्तै बनाएका छन् । झन्डै ४० घरपरिवार रहेको गाउँमा चारैतिरबाट बाहिरी मान्छे पस्न नमिल्ने गरी काठका तगारो लगाइएको छ ।

दिनभरि युवा चौकीदारी गर्छन् । ‘नयाँ मान्छेलाई गाउँमा छिर्नै दिँदैनौं’ स्थानीय प्रविन चौधरीले भने, ‘रोगले गर्दा कठोर बन्नै पर्दो रहेछ ।’ कोहलपुरको लखन गाउँमा पनि तगारोको लक्ष्मण रेखा कोरिएको छ । सिंगोगाउँलाई सुरक्षित राख्न उनीहरूले साबुनपानीले हात धुनसमेत सिकाउँदै आएका छन् । मंगलबार प्रतिनिधि सहित मिसन टुडे समेत उक्त टोलमा पुगेको थियो ।

राहत टोलीमा बस्तीमा पुगेकी कोहलपुर नगरकार्यपालिका सदस्य नारायणी वलीले कोरोनाबाट बच्नको लागि स्थानीयले गरेको सावधानीले आफूलाई समेत सचेत गराएको बताइन् । उनका शैक्षिक रुपमा निकै पछि रहेका सुन्दरबस्तीका नागरिकले गरेको उक्त कार्य नमूना हो ।

‘यो बेला सकभर सुरक्षित हुने बेला हो । नगरपालिका तथा वडा बाट पनि हामीले सुरक्षित रहन आग्रह गरिरहेका छौं । यस्ता सावधानी नगर क्षेत्रका विभिन्न ठाउँमा स्थानीयहरुले देखाएका छन् ।’

कार्यपालिका सदस्य वलीले भनिन् । नगरपालिकाका चारवटै नाकामा समेत प्रहरीले विषेश कडाई गरिरहेको छ । कोहलपुर नगरपालिकाको कौशिल्यानगर, मदनचोक, चप्पलगौडि र हवल्दारपुर चार नाकामा प्रहरीले कडा सुरक्षा दिइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

यी चार नाकाबाट कोहलपुर प्रवेशमा कडाई गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण दर नेपालमा पनि प्रतिदिन बृद्धि हुनथालेपछि सुरक्षा ब्यवस्थामा थप कडाई गरिएको कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ५ गते शुक्रबार