सुदीप अधिकारी, बर्दिया ।
मजदुरीका लागि काभ्रे जिल्ला गएका बर्दियाका एक युवक बीच बाटो बाटै हराएका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बखतपुरका ३० वर्षीय चक्र थारु काभ्रेबाट घर फर्किने क्रममा बाटोबाटै वेपत्ता भएका हुन् । उनी साथीहरुसँग काभ्रेबाट काठमाण्डौ कलंकीसम्म पैदल आएको र कलंकीबाट नारायणघाट सम्म टकमा आएका थिए ।
शुक्रबार विहान नारायणघाटदेखि पैदल हिडेका ति युवासहितका साथीहरु बाटोमा टूक फेला परेपछि त्यसैमा चढेका थिए । बाँकेको राप्ती सोनारी गाउँपालिकाको अगैया भन्ने ठाउँबाट उनी सम्पर्क बिहीन भएको परिवार स्रोतले जनाएको छ । गाउँले साथीहरुसँगै टूकमा अगैयासम्म आएका थारु शौचालय गर्न जाँदा टूकबाट छुटेको उनका साथी बालकृष्ण थारुले बताएका छन् । ‘ हामी २ वटा टूकमा करिब १८/२० जना
थियौ ।
हाम्रो टूक अगाडि थियो । पछिल्लो टूकमा रहको साथीहरु अगैयामा शौच गर्न झरे, घटना सुनाउँदै बालकृष्णले भने, ‘झरेका सबै साथी आए जस्तो लाग्यो । तर उनी छुटेको धरै पछि थाहा भयो । रातीको समय भएको भन्दै टूक चालकले गाडि फर्काउन मानेन् ।’ बेपत्ता भएका युवकले त्यही दिन राती घरमा फोन गरेर आफु जंगलमा रहेको र भोकले निकै अत्तालिएको बताएको बेपत्ता युवकका बुबा ठाकुर थारुले बताए ।
त्यसयता छोरासँग सम्पर्क हुन नसकेको बुबाले बताए ।
भोकले रन्थनिएका युवक अगैयाबाट कोहलपुरतर्फ लागेको अनुमान गरिएको छ । बेपत्ता भएयता उनको कसैसँग सम्पर्क हुन सकेको छैन । शुक्रबारदेखि बेपत्ता भएका युवकको चौतर्फी खोजीका लागि ठाकुरबाबा नगरपालिका र इलाका प्रहरी कार्यालय भुरिगाउँले सबैलाई आह्वान गरेको छ । बेपत्ता युवकको खोजीका लागि ठाकुरबाबा नगरपालिकाले ट्याक्टरसहित मानिस पठाएको नगरप्रमुख घननारायण श्रेष्ठले बताए ।









प्रतिक्रिया दिनुहोस्