परोपकारी युवा अमर : कोहलपुरका ३० घरधुरी बादी र गन्धर्वलाई राहत वितरण



कोहलपुर :

लकडाउनका कारण निकै समस्यामा परेका कोहलपुर नगरपालिका वडा नम्बर २ लोकनगरमा बस्ने बादी र गन्धर्व समुदायले राहत पाएका छन् । १९ दिन देखि कोरोना भाइरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको मारमा परेमा आर्थिक रुपमा विपन्न वर्गका रुपमा रहेका ३० घरधुरी बादी र गन्धर्व समुदायलाई राहत वितरण गरिएको हो ।

उनीहरुलाई यस अघि कोहलपुर नगरपालिका वडा नम्बर ११ मा सुकुम्बासीको रुपमा बस्दै आएका गन्धर्व समुदायका ५५ जना घरधुरीलाई खाद्यान्न सहयोग गरेका जुम्लाको पातारासी गाउँपालिका ६ उर्थू गाउँका अमर बिष्टले सहयोग गरेका हुन् । स्थानीय सरकारको तर्फबाट भन्दा एक जना अपरिचित व्यक्तिबाट सहयोग पाउँदा निकै खुसी लागेको उनीहरुले बताएका छन् ।

वडा कार्यालयको सिफारिसमा प्रतिव्यक्ति २५ के.जी. चामल एक–एक पोका नुन र तेल वितरण गरिएको थियो ।‘ दैनिक मजदुरी गरेर छोराछोरी पाल्छु । लकडाउनका कारण निकै समस्यामा थिए । एक जना व्यक्तिले हामीलाई दया गर्नु भयो निकै खुसी लागेको छ । भगवान रुपि ती मान्छेको सधै प्रगती हुदै जाओस । ’ एकल महिला चम्पा गन्धर्वले भनिन् । उनका अनुसार उक्त खाद्यान्न अब करिब १ महिना पुग्छ । राहत प्राप्त गरेकी अर्की स्थानीय गंगा बादीले राहात पाउँदा आफू निकै खुसी भएको प्रतिक्रिया दिइन् ।

‘उनको ५ जनाको परिवार छ । अस्ति वडाले पनि राहत दिएको थियो, त्यहिँ खाइरहेका छौ, लकडाउन लम्बिने जस्तो छ । फेरी राहत पाइयो । अब त भोकै बस्न पर्दैन होला ।’ खुसी प्रकट गर्दै उनले भनिन् । युवा भक्त गाइन कोरोना भाइरसका कारण समस्यामा परेकालाई परोपकारी मन भएकोले सहयोग गर्नु प्रशंसायोग्य कार्य भएको बताउँछन् । वडा नम्बर २ का अध्यक्ष कर्ण सिंह बुढाक्षेत्रीले विपन्नहरुलाई पहिलो चरणमा वडापालिकाले राहत वितरण गरेको भन्दै व्यक्तिको तर्फबाट वडाबासीलाई सहयोग हुनु राम्रो कुरा भएको बताए ।

उनका अनुसार वडा नै छनोट गरेर पठाएकोेले वास्तविक समस्यामा परेको वर्ग नै समेटिएको उनको भनाई छ । उनले वडामा दोस्रो चरणको राहत वितरणको लागि वडाले टोलटोलमा गएर राहत वितरण गरिरहेको अध्यक्ष बुढा क्षेत्रीले जानकारी दिए । यस अघि वडाले अति विपन्न ३ सय ११ जनालाई राहत वितरण गरिसकेको छ । उता बादी र गन्धर्व समुदायलाई खाद्यान्न सहयोग गरेका अमर बिष्टले आफूले कोरोना भाइरस रोगका कारण मारमा परेकाहरुलाई केही दिन भएपनि सहयोग होस भनेर सहयोग गरेको बताए ।

हाल लकडाउनको समस्यामा परेकाहरुलाई राहत वितरणको क्रममा सुर्खेतमा रहेको बिष्टले आफू जिपत्तिमा ज्यानको बाजि लगाएर भएपनि सहयोगमा जुटेको बताए । उनका अनुसार यहाँका नागरिकको आर्थिक अवस्था नाजुक भएका कारण मानवीय धर्म निभाउनको लागि सहयोग गरिएको हो ।

यस्तै उनले सुदूर पश्चिम प्रदेशको कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिकामा बसोबास गर्ने ८० जना सुकुम्बासीहरुलाई समेत खाद्यान्न सहयोग गरेका छन् । भने यस अघि जुम्लाको तातोपानी गाउँपालिका ६ को दलित बस्तीमा १५ के.जी. चामल, तातोपानी ७ कै दृष्टिविहीन र चन्दननाथ नगरपालिका ७ की अपांगता भएकी किशोरी पशुपति शाहीलाई पनि सहयोग गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ३० गते आइतबार