कोहलपुर ।
बाँकेमा समेत ¥यापिड डाइग्नोस्टिक किट (आरडीटी) बाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न सुरु गरिएको छ । शुक्रबारदेखि जिल्लामा क्यारेन्टाइनमा रहेका व्यक्तिहरुको ¥यापिड डाइग्नोस्टिक किट मार्फत कोरोना परीक्षण गर्न लागिएको हो । पहिलो चरणमा जिल्लाका विभिन्न क्यारेन्टाइनमा रहेका व्यक्तिहरुको नमुना संकलन गरेर ¥यापिड डाइग्नोस्टिक किट बाट कोरोना परीक्षण गर्न सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले क्यारेन्टाइनमा १४ दिन बसेकाहरुको ¥यापिड डाइग्नोस्टिक किटको सहायताले कोरोना परीक्षण गरिने जानकारी दिए । ‘क्यारेन्टाइनमा १४ दिन बसेकाहरुको नमुना परीक्षण गरिनेछ’ उनले भने, ‘शुक्रबारबाट नै ¥यापिड डाइग्नोस्टिक किट मार्फत क्यारेन्टाइनमा नै गएर कोरोना परीक्षण गर्ने काम सुरु भइसकेको छ ।’ पहिलो दिन शुक्रबार बाँकेको बैजनाथ गाउँपालिकाको क्यारेन्टाइनमा बसेका दुई जनाको ¥यापिड डाइग्नोस्टिक किट मार्फत कोरोना परीक्षण गरिएको थियो । ‘शुक्रबार यो प्रविधि मार्फत बैजनाथका दुई जनाको परीक्षण गरेका थियौं’ फोकल पर्सन श्रेष्ठले भने, ‘दुवै जनामा कोरोना नेगेटिभ देखिएको थियो ।’
कोरोना परीक्षण गर्न आवश्यक साम्रगीसहित विशेषज्ञ टोली क्यारेन्टाइन स्थलमा नै पुग्ने गरेको छ । परीक्षणको क्रममा कोरोना पोजिटिभ देखिए निज व्यक्तीलाई क्यारेन्टाइनमा राखेर पुनः पिसिआर प्रविधिबाट एकिन गर्न परीक्षणका लागि ‘थ्रोट स्वाव’ नमुना निकाली प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइने फोकल पर्सन श्रेष्ठले जानकारी दिए । आरडीटी प्रविधिबाट नेगेटिभ नतिजा आउनेहरु चाही थप घरमा गएर ७ दिन नियमअनुसार होम क्यारेन्टाइनमा बस्नुपर्नेछ । स्वास्थ्य कार्यालय बाँकेले आरडीटी परीक्षणको लागि क्यारेन्टाइनमा बसेकाहरुको १४ दिनमा समयावधि पुगेको भए दैनिक तथ्यांक उपलब्ध गराउन आग्रह गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेलाई ५ सय सेट ¥यापिड डाइग्नोस्टिक किट उपलब्ध भएको छ । बाँकेबाट अहिलेसम्म ७० जनाको ‘थ्रोट स्वाव’ संकलन गरी कोरोना परिक्षणका लागि पठाईएको छ । जसमध्ये शुक्रबारसम्म ६४ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाँकेबाट संकलन गरीएका ७० जनाको ‘थ्रोट स्वाव’ परिक्षण गर्दा ६४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने अन्य ६ जनाको रिपोर्ट आउन बाँकी छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार जिल्लाका आठ स्थानीय तहमा रहेका १७ वटा क्वारेन्टाइनमा शुक्रबार साँझसम्म ४ सय ८८ मानिसहरु रहेका छन् । भारत लगायतका तेस्रो मुलुकबाट आएका ४६ महिला र ४४२ जना पुरुषलाई क्यारेन्टाइनमा राखिएको छ ।









प्रतिक्रिया दिनुहोस्