सम्पादकिय : सहयोग सदुपयोग आवश्यक



नेपालसहित विश्वभर अहिले कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास रहेको छ । आफुलाई शक्तिशाली भन्ने राष्ट्रहरु समेत कोरोनासँग जुधिरहेको अवस्था छ । अहिले पनि विश्वको आधा जनसंख्या घरभित्रै रहेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन अधिकांश देशहरुले लकडाउनको घोषणा गरेका छन् । सम्भवत यसरी विश्वको अर्बौ जनसंख्या घरभित्रै बस्न बाध्य भएको यो नै पहिलोपटक हो । नेपालमा समेत सरकारले कोरोना संक्रमण फैलिन नदिन गत चैत्र ११ गतेबाट देशभर लकडाउन लगाइरहेको छ । अहिले तीनै तहका सरकारहरु कोरोना संक्रमण फैलन नदिन विभिन्न योजना बनाएर लागेका छन् । अझै भन्नुपर्दा राज्यको सम्पूर्ण शक्ति नै कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा लागिरहेको छ । लकडाउनको कारण साँझ बिहानको छाक टार्न समस्या भएकाहरुलाई सरकारले राहात समेत उपलब्ध गराएको छ ।

स्थानीय, प्रदेश र संघिय सरकारले कोरोना विरुद्ध लड्नको लागि सहयोग जुटाउने उद्देश्यले कोषहरु समेत सञ्चालनमा ल्याएका छन् । कोषमा जम्मा भएको रकम राहातको साथै कोरोना नियन्त्रण र रोकथामको लागि खर्च गरिने तीनै तहका सरकारहरुले बताइरहेका छन् । अहिले सरकारले सञ्चालनमा ल्याएको कोषमा धमाधम रकम जम्मा भइरहेको अवस्था रहेको छ । आम नागरीक तथा संघ संस्थाहरुले आफुले सक्नेजती रकम कोषमा जम्मा गरिरहेका छन् । तर कोषमा जम्मा भएको रकमको सही सदुपयोग हुने हो की होइन भन्ने आशंका भने आम सर्वसाधारणमा रहेको पाइन्छ । स्वास्थ्य साम्रगी खरिदमा भ्रष्ट्राचार भएको कुरा मिडियामार्फत बाहिरिएपछि कोषको रकम कतै सदुपयोग नभएर दुरुपयोग हुने त होइन भन्ने प्रश्न सबैतिर उब्जीएको अवस्था छ । यता बाँकेका स्थानीय तहरुले समेत राहात कोषका नाममा नगद तथा अन्य सामग्रीहरु समेत लिइरहेका छन् ।

दाताले दिएको खाद्यान्न समेत बाँड्दा यहाँका स्थानीय सरकार चुकिरहेका छन् । सामाजिक दुरी कायम गर्दै राहात बाँड्नुपर्ने भएपनि आम मानिसहरुबिच नै राहातको लागि लुडाचुडी गर्ने गरिएको छ । खासगरी लकडाउनको कारण साँझ बिहानको छाक टार्न समस्या भएकाहरुलाई राहात उपलब्ध गराउने सरकारको निती रहेको छ । कतिपय वडाहरुमा त बास्तविक पिडितले नपाएर हात गलामा सुनका सिक्री लगाएर आएकाहरुले राहात लिइरहेको कुराहरु सार्वजनिक भइरहेको अवस्था छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने दायित्व सरकारको मात्र होइन आम नागरीकको समेत हो । अहिले स्थानीय सरकारले बाँडीरहेको राहात साम्रगी हुनेखानेलाई नभएर बास्तविक साँझ बिहान छाक टार्न समस्या भएकाहरुलाई दिन आवश्यक छ । त्यसो हुनसके राहात कोषमा आम नागरीकहरुले जम्मा गरेको खाद्यान्न तथा नगदको सदुपयोग हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २८ गते शुक्रबार