अहिलेको अवस्था सामान्य नहुँदासम्म घरभाडा नलिने कोहलपुरका खनालको घोषणा



कोहलपुर ।
बाँके कोहलपुरका घरधनी बिष्णु प्रसाद खनालले अहिले अवस्था सामान्य नहुँदासम्म घरभाडा नलिने घोषणा गरेका छन् । अहिले कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै सरकारले उच्च सतर्कता अपनाएको छ ।

कोहलपुर नगरपालिका ११ दशबिगाहमा घर भएका खनालले अहिलेको अवस्था सामान्य नहुँदासम्म आफ्नो घरका कोठाहरु भाडामा लिई बस्नेहरुसँग भाडा नलिने सोमबार घोषणा गरेका हुन् ।

‘मैले घरभाडा बाफत मासिक ३४ हजार रुपैयाँ उठाउँने गरेको थिए’ उनले मिसन टुडेसँग भने, ‘अब अहिलेको अवस्था सामान्य नहुँदासम्म घरभाडा नलिने निर्णय गरेको छु ।’ घर भाडामा लिएर बस्नेहरुलाई उनले आफुले भाडा नलिने भन्दै घर पठाइसकेका छन् ।

‘लकडाउनका कारण उहाँहरुको (घर भाडा बस्ने) आम्दानी पनि हुन सकेको छैन’ खनालले भने, ‘यो अवधी दुई चार महिना जती लम्बीएपनि घरभाडा लिनेछैन ।’ कोहलपुरमा लामो समयदेखि व्यवसाय गर्ने खनाललाई व्यवसायीका नेता समेत भनेर चिनिन्छ ।

उनीहरुले केही दिनअघि कोहलपुरको न्यूरोड चोकमा निशुल्क रुपमा साबुन पानीले हात धुने व्यवस्था मिलाइदिएका थिए । सरकारले आइतबार घरधनीहरुलाई एक महिनाको घरभाडा मिनाहा गरिदिन आग्रह गरेको थियो ।

तर खनालले भने कोरोना भाइरसको सन्त्रास नेपालमा नहट्दा सम्म घरभाडा नलिने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २०७६ चैत १७ गते सोमबार