कोरोना संक्रमित युवतीसँगै कतारबाट फर्किएका बाँकेका तीन जनाको रिपोर्ट ‘नेगेटिभ’



फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित छ जनाको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए ।

यसअघि पहिलो चरणमा सात जनाको नमूना जाँच गर्न पठाइएकामा ती नमूना पनि नेगेटिभ नै आएको चन्दले बताए ।

बाँकेमा कोरोना भाइरसको आशङ्का गरिएका २३ मध्ये दुई चरणमा गरी १३ को रिपोर्ट नेगेटिभ आएको र १० जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए । चन्दका अनुसार तेस्रो चरणमा शनिबार थप १० जनाको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १७ गते सोमबार