नेपालगञ्ज ।
बाँकेमा विभिन्न देशबाट आएका सात जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमित भनिएकी १९ वर्षीया किशोरी चढेको जहाजमा आएका बाँकेका तीनजनासहित सात जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
कतारबाट युवती आएको जहाजमा बाँकेका चार जना रहेको र उनीहरुलाई क्वारेन्टाइनमा राख्न बाँके प्रहरीमा परिपत्र आएपछि प्रहरीले खोजेर तीन जनालाई क्वारेन्टाइनमा राखेको छ ।
जिल्लाका विभिन्न स्थानमा रहेका तीन जनालाई नेपालगञ्ज ल्याएर महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनम राखेको हो । सरकारले खोजतलास गरिरहदा बाँकेका ती तिन जना घरमा बसिरहेका थिए । उनीहरु बिरामी छैनन् ।
त्यसैगरी भारतबाट आएका ४ जनालाई खजुरा गाउँपालिकाको मैटहवा मावि क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
१४ दिन क्वारेन्टाइनमा राखेर उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने र उनीहरुमा संक्रमण देखिएमा उनीहरुको परिवारलाई समेत क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको उनले बताए ।
सरकारले चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा सवार सबैलाई क्वारेन्टाइनमा राख्ने नीति लिएसँगै सबैको नाम, ठेगाना पत्ता लगाएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राख्न थालिएको छ । कोरोना संक्रमित युवती आएको जहाजमा बाँकेका चार जना रहेको बताइएपनि प्रहरीले एक जनालाई भने फेला पार्न सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्