बैजनाथका विद्यालयमा क्वारेन्टाइन



कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकाका आठ वटै वडामा क्वारेन्टाइनका रुपमा विद्यालयलाई प्रयोग गरिने भएको छ । कोरोना भाइरसको संक्रमणको पूर्वतयारी स्वरुप विद्यालयहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिने भएको हो । क्वारेन्टाइनका लागि गाउँपालिकाका वडा नम्बर १ देखि ८ मा रहेका विद्यालय प्रयोग गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले कोरोना भाइरस संक्रमित भएका स्थानहरुबाट आएकाहरुलाई तत्काल क्वारेन्टाइन राख्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार वडा नम्बर १ को सुर्योदय मावि चिसापानी, वडा नम्बर २ को जनता आर्दश मावि डिगिया, वडा नम्बर ३ को सरस्वती मावि बैरहवा र वडा नम्बर ४ को विपि मेमोरियल मावि बाँनियाभारलाई प्रयोग गरिनेछ ।

त्यसैगरी वडा नम्बर ५ को प्रभात मावि जी गाउँ, वडा नम्बर ६ को आधारभूत मावि सम्झना, वडा नम्बर ७ को नेरा मावि पेडारी र वडा नम्बर ८ को स्वास्थ्य चौकी टिटिहिरीयामा प्रयोग सूचना अधिकारी आचार्यले बताए । उनका अनुसार गाउँपालिका स्तरमा १८ बेडको आइसोलेसन वार्डको आधारभूत स्वास्थ्य केन्द्र वनकटुवामा निर्माण कार्य भइरहेको छ । ‘आइसोलेसनको लागि सम्पूर्ण तयारी भइरहेको छ, आवश्यक सामग्री खरिद् प्रक्रिया समेत सुरु भइसकेको छ’ उनले भने, ‘गाउँपालिकामा कोही पनि व्यक्ति कोरोना संक्रमित भेटिएमा गाउँपालिकामा उपचार गर्ने गरि तयारी गरेका छौं ।’

आइसोलेसनको लागि आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गाउँपालिकाले नै गर्नेछ । गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले गाउँपालिकाबासीलाई संयमित रहन आग्रह गरे । उनले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि सबैलाई घर बाहिर ननिस्कन समेत आग्रह गरेका थिए । गाउँपालिकाले कोरोना विशेष राहात कोष समेत खडा गरेको छ । अहिलेसम्म गाउँपालिकामा कोही पनि कोरोना भाइरस संक्रमित भने भेटिएका छैनन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १२ गते बुधबार