कोहलपुरका सबै शैक्षिक संस्थाहरु बन्द गर्न नगर शिक्षाको आह्वान



कोहलपुर/   बाँकेको कोहलपुर नगरपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण शैक्षिक संघ–संस्थाहरु चैत मसान्त सम्मका लागि बन्द गर्न आह्वान गरिएको छ । कोहलपुर नगरपालिका, नगर शिक्षा शाखाले बिहीबार (आज) एक सूचना जारी गर्दै नगरपालिका भित्र रहेको सम्पूर्ण शैक्षिक संस्थाहरुले सञ्चान गरेका शैक्षिक गतिविधिहरु बन्द गर्न आह्वान गरेको हो ।

नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले जारी गरेको सूचनामा सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित बालविकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरुको दैनिक पठनपाठन, सरकारी, सामुदायिक तथा निजी क्षेत्रका तालिम केन्द्र, शैक्षिक परामर्श केन्द्र, शैक्षिक प्रतिष्ठानबाट सञ्चालित सम्पूर्ण गतिविधिहरु बन्द गर्न आह्वान गरिएको छ ।विश्वमा कोरोना भाइरस अर्थात कोभिट–१९ को संक्रमण महामारीका रुपमा फैलिँदै गएपछि केन्द्र सरकारको निर्णय अनुसार नै कोहलपुरका शैक्षिक संस्थाहरु पनि चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

यस्तै कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसले पनि आजदेखि अर्कौ सूचना जारी नहुँन्जेसम्मका लागि पठनपाठन बन्द गरेको छ ।मध्यपश्चिमाञ्चल विश्वविद्यालयको निर्देशन अनुसार अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि पठनपाठन बन्द गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ६ गते बिहीबार