29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

कोहलपुरमा फर्कियो पर्यटन कार्यालय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १२, २०७६  

कार्यालयबाट ट्राभल एजेन्सी तथा ट्रेकिंग एजेन्सी र ¥याफ्टिग एजेन्सीको इजाजत दिने तथा नविकरण गर्ने, पर्यटक यातायात सेवा व्यवसायको लागि इजाजत दिने नविकरण गर्ने, पर्यटक स्तरिय होटल तथा होमस्टेको इजाजत दिने तथा नविकरण गर्ने र टुर गाइड, ट्रेकिंग गाइड, ट्रेकिंग पोर्टर, रिभर गाइड लगायतको इजाजत र नविकरणको काम हुनेछ ।

कोहलपुर ।

बाँकेको कोहलपुरमा बन्द भएको आठ महिनापछि पर्यटन कार्यालय सञ्चालनमा आउने पक्का भएको छ । देश संघिय संरचनामा गएपछि कोहलपुरमा रहेको पर्यटन कार्यालय बन्द भएको थियो । कोहलपुरमा केही दिनमा नै औपचारीक रुपमा पर्यटन कार्यालयको सञ्चालन गर्ने तयारी प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको हो । मन्त्रालयका सुचना अधिकारी शेषदत्त चौधरीले कोहलपुरमा पर्यटन कार्यालय स्थापना गरिसकिएको जानकारी दिए । ‘कोहलपुरमा पर्यटन कार्यालय स्थापना भइसकेको अवस्था हो’ उनले भने, ‘केही कर्मचारीहरु समेत केही दिन पहिला पठाइसकेको छ ।’ आवश्यकता अनुसार कर्मचारी नहुँदा दैनिक कामकाज भने शुरु हुन नसकेको प्रवक्ता चौधरीले बताए ।

कोहलपुरमा रहेको पर्यटन कार्यालयको भवन

‘पहिले कार्यालय भएको भवनमा नै हामीले पनि पर्यटन कार्यालय स्थापना गरेका छौं’ उनले भने, ‘कर्मचारीहरुको अभाव हुँदा अहिले त्यहाँको काम समेत रुपन्देहीमा रहेको कार्यालयले हेर्ने गरेको छ ।’ कोहलपुर नगरपालिका ११ मा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नजिकै पर्यटन कार्यालय स्थापना गरिएको छ । केही दिनमा नै कार्यालय औपचारीक रुपमा शुरु हुने भएपछि अहिले पहिले पर्यटन कार्यालय रहेको भवनमा रंगरोगन गरिएको छ । केही दिनयता कर्मचारीहरु आउने र कार्यालयको सरसफाई देखि अन्य व्यवस्थापनका कामहरु गरिरहेको एक स्थानीयले जानकारी दिए । पहिले कार्यालयको उद्घाटन आज (सोमबार) गर्ने कार्यक्रम तय भएको थियो । तर विभिन्न कारणले केही दिन पर सकेको बताइएको छ । कोहलपुरमा यसअघि संघिय सरकार मातहतको पर्यटन कार्यालय थियो ।

उक्त कार्यालयको साविकको मध्य तथा सुदूरपश्चिमका जिल्लाहरु हेर्दै आएपनि प्रदेश र स्थानीय तहमा सरकारी कार्यालय स्थानान्तर गर्ने क्रममा केन्द्र मातहतको कार्यालय प्रदेशमा गाभिएको थियो । प्रदेश ५ सरकारले रुपन्देहीको सिद्धार्थनगर र बाँकेको कोहलपुरमा पर्यटन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । रुपन्देहीको सिद्धार्थनगरमा तत्काल कार्यालय सञ्चालनमा आएपछि बाँकेको कोहलपुरमा भने कर्मचारीको अभाव देखाउँदै सञ्चालनमा आउन सकेको थिएन । प्रदेश मन्त्रीपरिषद्को निर्णय अनुसार एक जना उपसचिवको नेतृत्वमा हरेक पर्यटन कार्यालयमा सात जना कर्मचारी रहने छन् । बाँके, बर्दियाको पर्यटकीय विकासलाई प्राथमिकता दिदै प्रदेश सरकारले कोहलपुरमा केही दिनमा नै पर्यटन कार्यालय सञ्चालन ल्याउन लागेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बताए । कोहलपुरमा पर्यटन कार्यालय सञ्चालनमा आउने खबरसँगै यहाँका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।

बाँकेका पर्यटन व्यवसायी कृष्ण चौधरीले कोहलपुरमा पर्यटन कार्यालय स्थापना हुनु खुसीको कुरा भएको बताए । ‘पर्यटन कार्यालय यहाँ आएसँगै सानातिना कामका लागि बाहिर जानुपर्ने झण्झट हुँदैन’ उनले भने, ‘यसले त्यतीमात्र होइन बाँके बर्दियाको पर्यापर्यटन क्षेत्रको विकास गर्न समेत ठूलो टेवा पु¥याउनेछ ।’ कार्यालय सञ्चालनमा आएपछि पर्यटकीय गतिविधि बढाउन र दर्ता, नविकरण जस्ता काममा सहजता हुने बाँके बर्दियाका पर्यटन व्यवसायीहरु बताउँछन् । कार्यालय सञ्चालनमा आएपछि ट्राभल एजेन्सी तथा ट्रेकिंग एजेन्सी र ¥याफ्टिग एजेन्सीको इजाजत दिने तथा नविकरण गर्ने, पर्यटक यातायात सेवा व्यवसायको लागि इजाजत दिने नविकरण गर्ने, पर्यटक स्तरिय होटल तथा होमस्टेको इजाजत दिने तथा नविकरण गर्ने र टुर गाइड, ट्रेकिंग गाइड, ट्रेकिंग पोर्टर, रिभर गाइड लगायतको इजाजत र नविकरणको काम हुनेछ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १२, २०७६     11:24:52 AM  |