पार्टी एकता गर्न २०५८ सालबाटै श्रृखला सुरु भएको हो : अध्यक्ष प्रचण्ड



कोहलपुर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा प्रदेशको ५ ले बढी बलिदान दिएको बताएका छन् ।बाँकेको कोहलपुरमा आइतबार पार्टी एकिकरण पछि पहिलो पटक राखिएको प्रदेश ५ स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले देशमा भएका परिवर्तनमा सबैभन्दा बढी भुमिका ५ नम्बर प्रदेशको रहेको बताएका थिए । खासगरी पछिल्लोपटक लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा समेत प्रदेश ५ ले ठूलो योगदान दिएको अध्यक्ष प्रचण्डले बताए ।

जनयुद्ध र जनआन्दोलनमा समेत प्रदेश ५ जिल्लाहरुले सबैभन्दा बढी भुमिका रहेको उनले दाबी गरे । अध्यक्ष प्रचण्डले पार्टी र सरकार सञ्चालनमा पार्टी केन्द्रिय कमिटीले गरेको निर्णय अक्षरस कार्यान्वयन हुने बताए । पुर्व प्रधानमन्त्री समेत रहेका उनले प्रदेश ५ सरकार र पार्टीले समेत सन्तोषजनक रुपमा काम गरेको बताएका थिए ।

पार्टी एकीकरणको श्रृखला २०५८ सालबाट सुरुभएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता कुनैपनि हालतमा कमजोर नहुने दाबी गरे । पार्टी एकता मुलुक परिवर्तनका लागि र समाजवाद ल्याउनका लागि गरिएको उनले स्पस्ष्ट पारे ।

बहुचर्चित एमसिसिका बिषयमा बोल्दै पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले पार्टीले बनाएको अध्ययन कार्यदलले दिएको प्रतिवेदनकै आधारमा निर्णय गरिने दाबी गरे ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ४ गते आइतबार