देशव्यापी विशेष अभियानको शुरुवात कार्यक्रममा नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव बिष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपा प्रदेश इन्चार्ज एवं मुख्यमन्त्रीशंकर पोखरेल लगायतका केन्द्रीय तहका नेताहरुको उपस्थिती रहनेछ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिएपनि सभ्भावना भने न्यून रहेको छ ।
कोहलपुर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को देशव्यापी विशेष अभियानको आज बाँकेको कोहलपुरबाट शुरुवात गरिदैछ । अभियानको कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भव्य समारोहका बीच शुरुवात गरिनेछ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको नेकपा प्रदेश ५ का कार्यालय सदस्य भुमिश्वर ढकालले जानकारी दिए । नेकपा केन्द्रीय समितिको निर्णयअनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशब्यापी अभियान सञ्चालन गर्ने र सुरुवात प्रदेश ५ बाट गर्ने निर्णय गरेका थिए । सोही अनुसार बुधबार बुटवलमा बसेको नेकपा प्रदेश ५ को कार्यालय बैठकले बाँकेको कोहलपुरबाट अभियानको शुरुवात गर्ने निर्णय गरेको थियो ।
बैठकले निर्णय गरेसँगै कोहलपुरमा कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि तयारी थालिएको थियो । शनिवार साँझसम्म सबै तयारी पूरा भएको नेकपा प्रदेश ५ का सदस्य नरेन्द्र न्यौपानेले जानकारी दिए । बैठकले कोहलपुरमा भेला र प्रशिक्षण गर्ने, ५ गते प्रदेशका लागि ३ महिने अभियानको खाका तयार गर्ने, फागुनमा जिल्ला तह देखि तल्लोतह सम्मका पाटीका बैठक गर्ने, जनसंगठन निर्माण गर्ने, चैतमा सर्वसाधारण र कार्यकर्ताबाट सुझाव संकलन गर्ने, तीन तहकै सरकारको कामको समिक्षा गर्ने, प्रचारप्रसार गर्ने र बैशाखमा बृहत जनसभा गर्ने निर्णय समेत गरेको छ । बैठकले सबै जिल्लालाई समान महत्व दिएर सबै जिल्लामा प्रदेश समितिको बैठक र भेला राख्ने निर्णय गरेको थियो । अभियानको शुरुवात समारोहमा नेकपाका अध्यक्षद्धय ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेल लगायतका केन्द्रीय तहका नेताहरुको उपस्थिती रहने नेकपा प्रदेश ५ का कार्यालय सदस्य ढकालले बताए ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भने स्वास्थ्यका कारणले आउने सभ्भावना न्यून रहेको नेकपा स्रोतले जानकारी बतायो । ‘प्रधानमन्त्री ज्यू अभियानको शुरुवात गर्ने कार्यक्रममा आउने कार्यतालिका थियो’ स्रोतले भन्यो, ‘उहाँको स्वास्थ्यका कारण आउनेसक्ने सम्भावना भने कम देखिन्छ । आउने नआउने भन्ने आइतबार बिहान मात्र फाइनल हुन्छ ।’ प्रधानमन्त्री ओली आउने भएपछि नेपाली सेनाको हेलिकोप्टरमा कोहलपुरमा आउनेछन् । आजदेखि शुरु भएको नेकपाको बिशेष केन्द्रीय अभियान फागुन २१ गते प्रदेश १ को विराटनगरबाट समापन हुनेछ । पार्टी एकताको २१ महिनापछि नेकपाले पहिलोपटक अभियान चलाउन लागिएको हो । अभियानको कार्ययोजना १५ देखि १९ माघसम्म बसेको केन्द्रीय कमिटी बैठकबाट पास भएको थियो । वैचारिक, राजनीतिक, भावनात्मक एकता सुदृढ गर्दै सरकारका सकारात्मक कामको प्रचार गर्ने र जनसम्बन्ध विस्तार गर्ने अभियानको उद्देश्य छ ।
पाँच महिने कार्ययोजनासहित तीन महिना विशेष रूपमा सञ्चालन हुने अभियानअन्तर्गत फागुनलाई तयारी र असार–साउनमा समीक्षा गर्ने नेकपाको तयारी छ । नेकपाले विशेष अभियानको मूल नारा ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ तय गरेको छ । गत माघ १९ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले पारित गरेको अभियानको कार्ययोजनाअन्तर्गत एकताको तत्कालीन एवं दीर्घकालीन महत्वलाई पार्टीपंक्ति र आमजनसमुदायका बीचमा स्थापित गर्ने, एकीकृत पार्टीका सैद्धान्तिक, राजनीतिक एवं नीतिगत निष्कर्षबारे पार्टीपंक्तिलाई प्रशिक्षित गर्ने उद्देश्य राखिएको छ । त्यस्तै, पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूका बीचमा वैचारिक, संगठनात्मक एवं भावनात्मक एकताको विकास गर्ने, केन्द्रीय निकाय एवं विभागहरूको पूर्णता, सबै तहमा पार्टी तथा जनवर्गीय संगठनहरूको एकीकरण, पार्टी सदस्यको एकीकृत अभिलेख र नवीकरण, पार्टी सम्पत्तिको अभिलेख एकीकरणलगायत पार्टी एकताका बाँकी काम सम्पन्न गर्न सम्बन्धित कमिटी तथा निकायलाई सहयोग र सहजीकरण गर्नेजस्ता उद्देश्य पनि नेकपाको अभियानमा समेटिएका छन् ।
यसैबिच प्रदेशका १२ जिल्लाबाट आउने नेता कार्यकर्ताहरुलाई बस्ने र खानेको व्यवस्था स्थानीय जनताको घरहरुमा गरिएको छ । आवास व्यवस्थापन संयोजक बसन्ती अधिकारीले कार्यकर्तादेखि मुख्यमन्त्रीसम्मलाई जनताको घरमा आवासको व्यवस्था मिलाइएको जानकारी दिइन् । ‘भेला तथा प्रदेश बैठकमा सहभागि जनाउन आउनेहरुलाई हामीले जनताको घरमा नै आवासको व्यवस्था गरेका छौं’ उनले भनिन्, ‘जनताहरुले जे खानुहुन्छ उहाँहरुले पनि त्यही खानुहुन्छ ।’ नेकपा कोहलपुर नगर कमिटी अध्यक्ष समेत रहेकी अधिकारीले तीन सय बढी पाहुनाहरुलाई जनताको घरमा बस्ने व्यवस्था मिलाइएको बताइन् । सबैलाई जनताको घरमा नै बस्न आग्रह गरिएको उनले जानकारी दिइन् । ‘प्रदेश ५ का मुख्यमन्त्री देखि मन्त्रीसम्म जनताको घरमा नै बास बस्नुहुनेछ’ उनले भनिन् ।









प्रतिक्रिया दिनुहोस्