नगर प्रमुखको कार्यकक्षमा तालाबन्दीको चेतावनी



  •  लगातारको तालाबन्दीले सेवाग्राही मर्कामा, कर्मचारी कामबिहीन

  •  नगर प्रमुख रावत भन्छन्, प्रहरी लगाएर ताला खोल्छौं

कोहलपुर ।

बाँकेको कोहलपुर नगर विकास समितिको कार्यालयमा लगाइएको तालाबन्दी पाँच दिन बितिसक्दा समेत खुल्न सकेको छैन । तालाबन्दी गरेको एक हप्ता हुन लाग्दा समेत सहमती हुन नसक्दा तालाबन्दी खुल्न नसकेको हो । गत बुधबार कोहलपुर नगर विकास समितिबाट घडेरी खरिद् गरेका जग्गाधनीहरुले तालाबन्दी गरेका थिए । नगर विकास समितिले करोडौं रुपैयाँ लिएर बिक्री गरेका घडेरीका अतिक्रमण खाली नगरेपछि खरिद गरेका व्यक्तिहरुले तालाबन्दी गरेका हुन् । उनीहरुले लाखौं रुपैयाँ लगानी गरेर खुल्ला टेण्डर मार्फत खरिद गरेका घडेरीहरुका घर हटरा हटाइदिन नगर विकास समितिलाई आग्रह गरेका छन् ।

शुरु देखि नै बदमासी गर्दै आएको नगर विकास समितिले अहिले कार्यालयमा तालाबन्दी गरेको पाँच दिन बितिसक्दा समेत कुनै चासो नदिएको पिडितहरुले गुनासो गरे । अहिलेसम्म नगर विकास समितिका पदाधिकारी र पीडित पक्षबीच वार्ताको प्रयास समेत हुन सकेको छैन । शान्तिपूर्ण ढंगले समस्या समाधानको लागि माग गर्दा समेत नगर विकास समितिले चासो नदिएको पीडित काशिराम कोइरालाले बताए । उनले अब थप आन्दोलन कार्यक्रम अघि सारिने चेतावनी दिए । ‘नगर विकासले केहि समाधान खोज्ला भनेर तालाबन्दी गरेका थियौं, तर कुनै चासो देखाएन’ उनले भने, ‘हामीलाई अन्याय भएको छ, जसरी पनि हाम्रो माग पुरा हुनुपर्छ, नत्र थप आन्दोलन गर्न बाध्य हुनेछौ ।’

अझै माग पुरा गर्नको लागि समन्वय भएन भने नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने पीडित कोइरालाले चेतावनी दिए । उनीसहित ११ जनाले नगर विकास समितिले घडेरी बिक्रीको लागि खुल्ला रुपमा बोलपत्र आह्वान गरेको बेला घडेरी खरिद गरेका थिए । अवराज खड्का नगर विकास समितिको अध्यक्ष भएको बेला तेश्रो चरणमा रहेका प्लट नम्बरहरु २४०, २४४, २४३, २६८, ३५५, ३४४, ३५१, ३५२, ३५३ र ३५४ बिक्रीको लागि टेण्डर आह्वान गरिएको थियो । उनकै पालाका खोलिएको टेण्डरको क्रममा सबैभन्दा बढीमा खरिद गर्ने भनेर टेण्डर हालेको आधारमा अहिलेका घडेरी पीडितलाई उक्त प्लट नम्बरका जग्गा बिक्री गरिएको हो ।

तत्कालिन अध्यक्ष खड्काले समेत आफुले नै बिक्री वितरण गरेका घडेरीहरु खाली गरेर जग्गा धनीलाई उपलब्ध गराउन तर्फ खासै ध्यान दिन सकेनन् । अहिले नगर विकास समितिको अध्यक्षको जिम्मेवारी समेत सम्हालेका कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले वार्ताको पहल गर्नतर्फ ध्यान दिएका छैनन् । उनले तालाबन्दी खुलाउने विषयमा नगर तथा जिल्ला स्तरमा दुई पटक बैठक सम्पन्न भइसकेको दाबी गरे । ‘हामी तालाबन्दी गर्नेहरुलाई भेटेर अनुरोध गर्छौ’ उनले भने, ‘उहाँहरुले मान्नु भएन भने प्रहरीले ताला खोल्छ ।’

सेवाग्राही मर्कामा

नगर विकासको जग्गा भाडामा लिएर व्यवसाय गरिरहेका धुव्र रसाइली सटर बापतको भाडा तिर्न कार्यालयमा आए । तालाबन्दी भएको जानकारी समेत उनलाई अहिले सम्म त तालाबन्दी खुलिसक्यो होला भन्ने लागेको थियो । तर रसाइली कार्यालयमा तालाबन्दी नखुलेका कारण आफ्नो काम गर्न पाएनन् । उनी भाडा नतिरेरै फर्किए । उनी त प्रतिनिधि उदाहरण मात्रै हुन् । हरेक कार्यालयमा कामको लागि आउने सेवाग्राही रित्तो हात फर्किन बाध्य छन् । प्रत्येक दिन पाँच जना देखी दश जना सम्म सेवाग्राही आउने जाने गरेको कर्माचारी
बताउँछन् । नगर विकास समितिमा कार्यरत दिलबहादुर खत्रीले अहिले सम्म ५० जना बढि सेवाग्राही तालाबन्दीका कारण फर्किने गरेको बताए ।

उनका अनुसार सरदर १ दर्जन सेवाग्राही कार्यालयमा आउने गरेका छन् ।‘ धेरै जना त तालाबन्दी छ भनेर आउदैनन्’ उनले भने, ‘थाहा नपाएकाहरु आउछन् जान्छन् ।’ लामो समय बितिसक्दा समेत तालाबन्दी नखुदा सेवाग्राही भने मर्कामा परेका छन् । विभिन्न कामका लागि कार्यालयमा आउने सेवाग्राही रित्तो हात फर्किने गरेका हुन् । अहिले सम्म दुवै पक्ष बीच संवादहिनता कायम रहेका कारण अहिले तालाबन्दी खुल्न एकिन छैन ।

घाम ताप्दै कर्मचारी

नगर विकास समितिमा काम गर्ने कर्मचारी १ दर्जन बढी छन् । आइतबार बिहान साढे १० बजेतिर मिसनकर्मी त्यहाँ पुग्दा एक जना मात्रै कर्मचारी कुर्सीमा बसिरहेकी थिइन् । वरपर दुई चार वटा कुर्सी राखिएका थिए । अरु बेला सेवाग्राहीको भिड हुने नगर विकास समितिको कार्यालय बुधबार यता भने सुनसान जस्तै छ । अन्य कर्मचारी आउँछन् एकछिन् घाम ताप्छन्, जान्छन् यसैगरी दैनिकी बितिरहेको छ । कमला बुढा नगर विकास समितिमा कार्यलय सहयोगीको रुपमा काम गर्छिन् ।

उनी भने, बिहिबारदेखी निरन्तर ड्युटीमा छिन् । ‘बिहान साढे ९ बजे कार्यालयमा आउछु, साँझ ५ बजे सम्म बस्छु’ उनले भनिन्, ‘धेरै आउँदैनन् हामीहरुलाई यस्तै त हो ड्युटी चलिरहेको छ ,केहि काम छैन घाम ताप्यो बस्यो ।’ ‘सेवाग्राही आउँछन् सोध्छन्, तालाबन्दी भएको छ भन्छु, कहिले काँहि सुरक्षाकर्मी समेत आउछन् । यस्तै चलिराछ’ उनले भनिन् ।

प्रकाशित मिति : २०७६ माघ २७ गते सोमबार