कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका-११ स्थित नेपालगञ्ज मेडिकल कलेज नजिकै जिउँदै छाला निकालिएको अवस्थामा गाईको बाच्छो फेला परेको छ । मेडिकल कलेजमा रहेको हेलिप्याड नजिकै जिउँदै छाला निकालिएको अवस्थामा बेवारिसे गाईको बाच्छो फेला परेको हो । मंगलबार बिहान त्यस क्षेत्रका स्थानीयले बेवारिसे अवस्थामा लडिरहेको अवस्थामा गाई बाच्छोलाई फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । बाच्छोको शरिरका केही भागमा गहिरो चोट लागेको पाईएको थियो ।
स्थानीयहरुले भने बाच्छोको जिउँदै छाला निकालेको बताएका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ६ का स्थानीय श्रीधर सुवेदीले अबोध जनावर माथि अमानवीय हुनु दुभाग्य भएको बताए । उनले घटनामा संग्लनहरुको खोजी गरी कानुन अनुसार कारबाही गर्न स्थानीय प्रशासनसँग समेत माग गरे । आफ्नो फेसबुक मार्फत सुवेदीले घटनामा संलग्न ब्यक्तिको पहिचान गरी कारबाही गर्न स्थानीय सरकार तथा प्रशासनलाई आग्रह गरेका हुन् । जनावरका माथिको यस्तो कार्य कुनै पनि हालतमा स्वीकार गर्न योग्य नभएको उनको भनाई थियो ।
यता इलाका प्रहरी कार्यालय कोहलपुरले गम्भिर घाइते बाच्छोको उद्धार भइसकेको जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रण बहादुर विष्टले स्वास्थ्यकर्मी सहितको टोलीको बाच्छोको उद्धार गरी केही प्राथमिक उपचार गरिएको बताए । ‘बाच्छोको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको जस्तो देखिन्छ’ उनले भने, ‘यो घटना बारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।’ अन्दाजी एक वर्षको जस्तो देखिने गाईको बाच्छो बाहिरी छाला काटिएको अवस्थामा फेला परेको थियो ।









प्रतिक्रिया दिनुहोस्