कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ र १२ जोड्ने डुडुवा नालाको कटान रोक्न तटबन्ध निर्माण कार्य भईरहेको छ । कोहलपुर नगर विकास समितिले ठेक्का दिएसँगै डुडुवा नालाको कटान रोक्न खाली जग्गामा तटबन्ध निर्माण काम अगाडि बढेको हो । तर बारम्बार एकतर्फी काम नगर्न माग गर्दा समेत सुनुवाई नभएको भन्दै कोहलपुर नगरपालिका वडा नम्बर १२ का स्थानीय तटबन्ध निर्माण कार्यमा अवरोध पु¥याएका छन् । वडा नम्बर ११ मा रहेको नगर विकासको खाली जग्गा सुरक्षित र संरक्षण गर्न वडा नम्बर १२ पट्टीको बस्ती नै जोखिममा पर्ने गरी काम भईरहेको र एकतर्फी काम गरेको भन्दै स्थानीयले विरोध गर्दा काम रोकिएको छ ।
डुडुवा नाला अन्तर्गत वडा नम्बर १२ मा पर्ने क्षेत्रमा भने कुनै काम नै भएको छैन । जुन बस्ती तर्फ वर्षाको समयमा बाढी आउँदा डुबान र कटानको जोखिम हुने देखिन्छ । सोही स्थानमा त्यहाँका स्थानीयले एकतर्फी मात्रै नभएर दुवै तर्फ काम गरिदिन माग गरेका हुन् । कोहलपुर नगर विकास समितिले वडा नम्बर ११ तर्फ खाली जग्गा संरक्षणको लागि १ सय २५ मिटर क्षेत्रफलमा निर्माण कार्य गरिरहेको छ । उनीहरुले खाली जग्गा संरक्षणका साथै वडा नम्बर १२ तिर रहेको बस्तीको पनि संरक्षणको लागि दुवै तर्फ तटबन्ध निर्माण हुनुपर्ने बताउँदै आएका छन् । नगर विकास समितिले वडा नं.१२ मा रहेको बस्ती संरक्षण गर्नतर्फ ध्यान नदिएर वडा नं.११ खाली जग्गा संरक्षणतर्फ लागेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका हुन् ।
समितिले खाली जग्गालाई मात्र संरक्षण गरेर बस्ती संरक्षणलाई वेवास्ता गरेकोले बाध्य भएर निर्माण कार्यमा अवरोध गर्नुपरेको वडा नम्बर १२ का स्थानीय धनराज चापागाईले बताए । ‘एकतर्फी तटबन्ध गर्दा अर्कोतर्फ कटानको समस्या हुन्छ, बस्ती डुबान तथा कटानको समस्या छ भन्दा हाम्रो माग नै सम्बोधन नभएका कारण बाध्य भएर अवरोध गरेको हौ’ उनले भने । यस अघि २०७१ मा आएको बाढीले वडा नम्बर १२ तिरको केही बस्तीमा क्षती गर्नूका साथै ठूलो मात्रामा जमिन समेत कटान गरेको थियो । वडा नम्बर १२ मा पर्ने झण्डै २ सय घरधुरी डुडुवा नालाको जोखिममा रहेका छन् । त्यहाँको राम जानकी टोल उच्च जोखिममा रहेको छ । त्यति मात्रै होईन वडा नम्बर १२ जोड्ने नाला क्षेत्रका विभिन्न स्थानमा समेत तटबन्ध निर्माण गरिदिनुपर्ने स्थानीयहरुको माग रहेको छ ।
‘नगर विकासलाई खाली जग्गाको मात्रै माया हो की जनताको पनि छ’ चापागाई प्रश्न गर्दै भन्छन्, ‘उल्टै विकास गर्नुको साटो विनास तिम्त्याउने ।’ ‘वडा नम्बर ११ पट्टी मात्रै काम कुनै पनि हालतमा हुन दिन्नौ, बस्ती सुरक्षित बनाउन काम सुरु नभएसम्म यहाँको काम रोकिन्छ’ अर्का स्थानीय विष्णु काफ्लेले आक्रोश व्यक्त गर्दै भने । एउटै क्षेत्रका नागरिकलाई विकास पनि विभेद गरेको भन्दै नेतृत्वको आलोचना उनले गरे । खाली जग्गा जोगाउनु भन्दा पहिले जहाँ बढी क्षति हुन्छ त्यो बस्ती जोगाउनु पर्नेमा उनले जोड दिए । सोही वडाका अर्का स्थानीय केशव लम्साल कोहलपुर नगरपालिकाले वडा नं.१२ लाई हेर्ने दृष्टिकोण नै फरक भएको बताए ।
‘नगरपालिकाले वडा नम्बर १२ लाई सौतेनी व्यवहार गर्दै आएको छ’ उनले भने, ‘अन्य विकास निर्माण कार्यमा समेत वडा नम्बर १२ सधै ओझेलमा पर्छ ।’ वडा नम्बर १२ की स्थानीय समेत रहेकी सामाजिक विकास समिति संयोजक नारायणी वली पनि वडा नम्बर १२ रोहिणी र डुडुवा खोलाले घेरेको हुनाले सुरक्षित तटबन्ध हुनु पर्ने माग रहेको बताउँछिन् । नगर कार्यपालिका बैठक यो मुद्धा उठाएको भन्दै पछि सर्भे गर्ने काम भएपनि अहिले स्थानीयको माग सम्बोधन नभएको उनको भनाई रहेको छ । ‘सर्भेमा वडा नम्बर १२ को मसुरी खेत र सुन्दरबस्ती अति नै जोखिम क्षेत्र भएको देखाएको थियो’ उनले भनिन् ‘तर अहिले यो क्षेत्रमा जोखिममा भयो उक्त क्षेत्रमा सम्भावित जोखिम छ ।’ नगर विकास समितिले सन्तुलित रुपमा विकास गर्नुपर्छ भन्ने माग आफुहरुको रहेको संयोजक वलीले बताइन् । ११ नम्बर वडा पट्टीको तटबन्ध निर्माण कार्य ७५ प्रतिशत सकिएको छ भने अब २५ प्रतिशत मात्रै काम बाँकि छ । निर्माण व्यवसायीका प्रतिनिधि हिरा रावतले केही संख्यामा जाली हाल्न मात्र बाँकी रहेको जानकारी दिए ।
कुल ७५ लाख लागतमा निर्माण भईरहेको तटबन्धको ७५ प्रतिशत रकम समेत भुक्तानी भईसकेको छ । नगर विकास समितिका अध्यक्ष लुट बहादुर रावतले वडा नम्बर १२ का स्थानीयले केही समय अघि देखी बस्ती क्षेत्रमा पनि तटबन्ध निर्माण गर्न माग गरेको बताए । उनले नगर विकास समितिको बोर्ड बैठकमै निर्णय भइसकेकोले स्थनीयको माग सम्बोधन हुने दाबी गरे । ‘सम्पुर्ण नगर क्षेत्रको विकासको लागि नगरपालिका÷नगर विकास समितिले कसैले काखा र कसैले पाखा गर्दैन’ उनले भने । यता भने वडा नम्बर १२ का स्थानीयले बारम्बार आस्वासन दिने र झुक्याउने काम मात्र भएको भन्दै निर्माण कार्य सुरु नभए सम्म बाँकि काम अगाडी बढाउन नदिने अडान राखेका छन् ।









प्रतिक्रिया दिनुहोस्