नेपालगञ्ज ।
बाँकेको खजुरा गाउँपालिकाको वडा नं.४ को ई गाउँ चोकमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । गाउँपालिका क्षेत्रभित्रका सबै जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आधारभूत स्वास्थ्य चौकी स्थापना गरिएका हो । यसअघि यो वडाका जनताले कपास विकास नजिक रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा लिँदै आएका थिए ।
अब आधारभूत सेवा यसै केन्द्रबाट प्राप्त गर्नेछन् । वडा नं. ४ का सेन्टरमा रहेको ई गाउँ चौकमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले उद्घाटन गरे । उद्घाटन सत्रमा बोल्दै अध्यक्ष कक्षपतिले खजुराका सबै वडामा स्वास्थ्य चौकी, उप–स्वास्थ्य चौकी आधारभूत स्वास्थ्य केन्द्र रहेकोले जनतालाई आफ्नो पायक पर्ने स्थानमा पुगेर सेवा लिन आग्रह गरे । स्वास्थ्य, शिक्षा, खेलकुदलाई जोड्दै सेवा प्रदान गर्ने र खजुरालाई स्वास्थ्य हब बनाउने उद्देश्य रहेको उनले जानकारी दिए । उनले केही मेसिन जडान गर्न बाँकी रहेको र कर्मचारीको दरबन्दी पूरा गरेर खजुराको क्यान्सर अस्पताल पूर्णरुपमा सञ्चालनमा ल्याउने बताए ।
यस्तै १५ बेडको प्राथमिक स्वास्थ्य केन्द्र स्थापना र हरेक वडामा स्वास्थ्य केन्द्रहरु रहेकाले खजुरा स्वास्थ्यको क्षेत्रमा अगाडि बढिरहेको कक्षपतिले उल्लेख गरे । स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रबाट पाउने सेवा प्राप्त गर्न स्थानीयलाई आग्रह गरिन् । उनले स्वास्थ्य केन्द्रको भवनको लागि टेण्डर भइसकेकाले भवन नबन्दासम्मका लागि हाल भाडामा स्थापना भएको ठाउँबाट सेवा दिइने बताइन् ।








प्रतिक्रिया दिनुहोस्