४५ लाखमा बनेको स्वचालित शौचालय सञ्चालनमा, सङ्गीत सुन्दै शौच गर्न सकिने



नेपालगञ्ज ।

तपाईं बाँके नेपालगञ्जवासी हो वा यहाँ आएको पाहुना ? यदि तपाईं नेपालगञ्जमा हुनुहुन्छ भने अब शौचसँगै सङ्गीतको आनन्द लिन सक्नुहुन्छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले सोमबारबाट अत्याधुनिक डिजिटल शौचालय सञ्चालनमा ल्याएको छ । ४६ लाख ३६ हजार रुपैयाँको लागतमा नेपालगञ्जको धम्बोझी चोक नजिकै स्वचालित शौचालय निर्माण भएको हो ।

एसएनभी नेदरल्याण्ड विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत स्वचालित शौचालय निर्माण भएको नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण ईञ्जिनियर प्रकाश डिसीले बताए । उनका अनुसार शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लैजान सकिनेछ । नगर प्रमुख डा. धवल शमशेर राणाले स्वचालित शौचालय सञ्चालनमा आउनु मात्रै उपलब्धी नभएको भन्दै यसको सहि सदुपयोगमा गर्नुपर्नेमा जोड दिए ।

‘शौचालयलाई सफा राख्नु आफैमा चुनौतीपूर्ण हुन्छ’ उनले भने, ‘यसका लागि सबै नगरबासिको साथ सहयोग आवश्यक छ ।’ यसअघि नै नेदरल्याण्ड विकास नियोगले ८१ लाख १६ हजार रुपैयाँमा निर्माण गरेका तीनवटा सुलभ शौचालय नेपालगञ्ज उप–महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । अपाङ्गता भएका व्यक्ति तथा महिलामैत्री सो स्वचालित शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक फरक क्षमता (अपाङ्गता भएका व्यक्ति) भएका व्यक्तिले शौच गर्न सक्नेछन् ।

नगर उपप्रमुख उमा थापामगरले भनिन्, ‘पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी र साबुन नभए शौचालयको ढोका खुल्दैन । यो शौचालय देशकै पहिलो हो ।’ शौचालयभित्र शौच गर्दा स्वचालितरूपमा सङ्गीत बज्ने उनले जानकारी दिइन् । जो कोहीले सङ्गीत सुन्दै शौच गर्न पाउनेछन् । यसअघि नेपालगञ्जमा शौचालय अभावको समस्यालाई समाधान गर्न चार घुम्ती शौचालय सञ्चालनमा ल्याइएको थियो । तर ती प्रभावकारी बन्न सकेनन् । अहिले ती मध्ये अधिकांश प्रयोगबिहीन बनेर थन्कीएका छन् । डिजिटल शौचालयमा सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ७ गते मंगलबार