27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

तेस्रो प्रादेशिक महोत्सव २०७६, तयारी अन्तिम चरणमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस २३, २०७६  

कोहलपुर ।  तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको आयोजनामा हुन गइरहेको महोत्सव बाँकेको कोहलपुर भोली बिहीबारबाट सुरु हुनेछ । सुरु हुने दिन नजिकिदै जाँदा तयारी समेत अन्तिम चरणमा पुगेको बताइएको छ । मंगलबार आयोजकले पत्रकार सम्मेलन गरेर महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको थियो ।

‘बिहीबारबाट सुरु हुने महोत्सवको तयारी लगभग पुरा भइसकेको अवस्था छ’ महोत्सव मुल समितिका संयोजक हेमविक्रम जिसीले भने, ‘बुधबार साँझसम्म सबै तयारीहरु पुरा भइसक्नेछन् ।’ महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भौतिक निर्माण लगायतका कामहरु सकिएको जानकारी दिए । ‘हामीले अन्य महोत्सवभन्दा यसलाई पृथक बनाउन प्रयास गरेका छौं’ उनले भने, ‘संघिय सरकारका उद्योग तथा आपूर्ति मन्त्री लेखराज भट्टले महोत्सवको उद्घाटन गर्ने टुङ्गो लागेको छ ।’

घरेलु उत्पादनलाई विशेष जोड दिईएको महोत्सवमा व्यवसायीक, होटल, हस्तकलाका साथै कृषि उत्पादन गरी ३०० स्टल राखिएको आयोजकले जनाएको छ । महोत्सव कुनै समुह तथा संस्थालाई ठेक्कामा दिएको भन्ने कुरामा कुनै सत्यता नभएको महोत्सव मुल आयोजक समितिका संयोजक जिसीले दाबी गरे । ‘महोत्सव ठेक्कामा दिइएको भन्ने कुरा मैले पनी सुनेको छु । यो महोत्सव विरोधीहरुले फैलाएको हल्ला मात्र हो’ उनले भने, ‘यसमा कुनै पनि सत्यता छैन ।

स्टल लगायतका कामहरु गर्दा ठेक्का दिएका हौं ।’ महोत्सवमा सुरक्षालाई ध्यानमा राखेर सुरक्षाकर्मी परिचालन गर्नुको साथै सिसिटिभी क्यामेरा समेत जडान गरिने छ । ‘हामी महोत्सव अवलोकन गर्न आउनेहरुको सुरक्षामा कुनै कमी हुन दिदैनौं’ महोत्सव सचिवालयका संयोजक चिन्तामणी उपाध्याय (सिएम) ले भने, ‘त्यसको लागि महोत्सवमा स्थलमा प्रविधीको प्रयोग समेत गर्नेछौं ।’ उनका अनुसार महोत्सव स्थलमा ४० भन्दा बढी सिसिटिभी क्यामेरा जडान गरिनेछ । माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवको एक लाख पचास हजार बढीले अवलोकलन गर्ने लक्ष्य आयोजकले राखेको छ ।

महोत्सवबाट बचत हुने रकम नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको भवन निर्माणमा खर्च गरिने महोत्सव मुल समितिका संयोजक जिसीले दाबी गरे । महोत्सव अवलोकन गर्न आउने दर्शकहरुका लागि निशुल्क स्वास्थ्य शिविर, दन्त शिविर तथा रक्त परिक्षणको समेत व्यवस्था मिलाईएको बताइएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणलाई रु. ५० र विद्यार्थी, अपाङ्ग तथा जेष्ठ नागरीकहरुलाई रु. ४० का दरले टिकटको व्यवस्था गरिएको छ ।

कलाकारलाई नेपाली पहिरन महोत्सवमा आफ्नो प्रस्तुती दिन आउँने कलाकारहरुलाई नेपाली पहिरन अनिवार्य गरीएको छ । महोत्सवलाई भव्य र सभ्य बनाउन सबै कलाकारहरुलाई साँस्कृतीक पहिरनमा आउन आग्रह गरीएको महोत्सव मुल समितिका संयोजक जिसीले जानकारी दिए । विशेषगरी लोक गायिका ज्योती मगर र प्रिती आलेलाई गुन्ह्यु चोलीमा मञ्च उकाल्ने तयारी गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।

‘कलाकारहरु सबै जनालाई साँस्कृतीक भेषभुषामा आउन आग्रह गरिएको छ’ उनले भने, ‘विगतको जस्तो विवाद हुने गरी कलाकारहरुलाई मञ्चमा उकालिने छैन । ‘विगतको जस्तो विवाद हुने गरी कलाकारहरुलाई मञ्चमा उकालिने छैन ।’ महोत्सव अवधीभर दुई दर्जन बढी राष्ट्रिय तथा त्यती नै संख्यामा स्थानीय कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

प्रकाशित मितिः बुधबार, पुस २३, २०७६     7:07:52 AM  |