नेपालगञ्ज ।
बाँके नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको कान्जी हाउस धमाधम पशुचौपाया मर्न थालेका छन् । कान्जी हाउसमा उचित खाना र बस्ने व्यवस्था नहुँदा पछिल्लो केही दिनयता पशुचौपायाहरु मर्न थालेका हुन् । कान्जी हाउसमा रहेका पशुचौपायाहरुले पोषकतत्व भएका दानापानी खान पाउँदैनन् । पोषकतत्व नपुगेपछि त्यहाँका अधिकांश पशुचौपायाहरु दुब्लाएका छन् । अत्यधिक चिसोका कारण कान्जी हाउसमा रहेका एक दर्जन बढी पशुचौपायाहरु मरिसकेका छन् ।
पछिल्ला दिनहरुमा पशुचौपायाहरु दैनिक जसो मर्न थालेपछि शुक्रबार भेटेरिनरी अस्पताल तथा विज्ञ सेवा केन्द्र, बाँके र नेपालगञ्ज उपमहानगरपालिका चिकित्सकहरु पुगेर उपचार गरेका थिए । कान्जी हाउसका पशुचौपायाहरुले पोषकतत्व भएका खानेकुरा नपाउँदा विभिन्न रोगहरुले भेटाएको पाइएको उपचारमा संग्लन चिकित्सकहरुले बताएका छन् । भेटेरिनरी अस्पताल तथा विज्ञ सेवा केन्द्र, बाँकेका निमित्त प्रमुख पशु विकास अधिकृत गणेश पुनले पशुचौपायालाई आवश्यक पोषकतत्व नभएको घाँस र दानापानी खुवाएका कारण पशुचौपाया विरामी पर्ने गरेको बताए ।
पशुचौपाया कमजोर भएका कारण निमोनियालगायतका रोगले च्यापेको उनले जानकारी दिए । ‘शरीर कमजोर भएपछि रोगसँग लड्ने क्षमतामा कमी आउँछ । कान्जी हाउसका पशुचौपायामा पनि त्यही समस्या भएको हो’, उनले भने, ‘खान नपाएर कमजोर भएका पशुचौपायाले चिसोसँग जुध्न नसकेपछि निमोनिया भयो र निमोनियाकै कारण मरिरहेका छन् ।’ उचित खाना नपाएर कान्जी हाउसका गाईगोरु सुक्दै गएका छन् । राम्रोसँग खाना नपाएर कमजोर भएका गाइगोरु हिड्डुल गर्न समेत नसक्ने अवस्थामा रहेका छन् । पछिल्लो पटक कान्जी हाउसमा एकसय ३७ वटा गाइगोरु, बाच्छाबाच्छी राखिएकोमा आठ महिनामा ४० गाईगोरु मरिसकेका
छन् ।
तीन दिनको अवधीमा आठ वटा गाइगोरु मरेको कान्जी हाउसका प्रमुख पवनकुमार कनोजियाले जानकारी दिए । चिसोयाम सुरु भएदेखि एक दर्जन बढी गाइगोरु मरेको उनले बताए । पर्याप्त पोषिलो खाना नपाएर गाइगोरु मर्ने क्रम जारी रहे पनि उनले भने पोषिलोयुक्त खाना पर्याप्त दिएको दावी गरे । ‘दिएका खाना नखाई दिँदा पशुचौपायालाई जोगाउन नसकिएको हो’ उनले भने, ‘प्लाष्टिक खाएका पशुचौपायाले दिएको खानासमेत राम्रोसँग खान मान्दैनन् ।’ अत्यधिक चिसो बढेपछि कमजोर र बुढा गाइगोरु मरेको कान्जी हाउसका प्रमुख कनोजियाले बताए । ‘चिसोले बुधबार, बिहीबार, शुक्रबार र शनिबार मात्र आठ वटा गाइगोरु थला परेर मरे’ उनले भने, ‘केही थला परेरका गाईगोरुलाई समेत बचाउन सक्ने अवस्था छैन ।’
कान्जी हाउसमा रहेका पशुचौपायालाई खुवाउनको लागि दानापानीको कुनै कमी नभएको उनले दाबी गरे । कान्जी हाउसमा भएका मध्ये ५८ वटा गाइगोरु लालन पालनका लागि सर्वसाधारणले लगेका थिए । कान्जी हाउसमा अव ३८ वटा गाइगोरु र एक वटा खच्चड रहेका छन् । उपमहानगरपालिकाले वडा नम्बर २१ मा नगरका छाडा पशुचौपायाहरु व्यवस्थापन गर्नको लागि कान्जी हाउस सञ्चालनमा ल्याएको छ । तर कान्जी हाउसको उचित व्यवस्थापन भने नसक्दा पशुचौपायाहरु धमाधम मर्न थालेका हुन् ।









प्रतिक्रिया दिनुहोस्