27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

सडक विस्तारमा अवरोध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस १८, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका क्षेत्र अन्तर्गत टाउन प्लानिङ क्षेत्रमा भईरहेको सडक विस्तार गुणस्तरीय नभएको भन्दै स्थानीयले अवरोध गरेका छन् । कोहलपुरमा रहेका पार्क क्षेत्रमा भईरहेको सडक विस्तार गुणस्तरीय नभएको भन्दै उनीहरुले सडक निर्माणमा अवरोध गरेका हुन् ।

वडा नम्बर ११ मा रहेको वनवाटिका÷जेष्ठ नागरिक पार्क क्षेत्रमा मापदण्ड अनुसार सडक विस्तार नभएको भन्दै निर्माण कार्य नै रोकिएको हो । अहिले कोहलपुर नगर विकास समितिले नगरका विभिन्न क्षेत्रमा सडक विस्तार तथा स्तरोन्नती गरिरहेको छ । सडक विस्तारको क्रममा विभिन्न स्थानमा ईस्टिमेट अनुसार काम र गुणस्तरीय नभएको भन्दै त्यस क्षेत्रका स्थानीयले काम रोकिदिएका हुन् ।

उक्त क्षेत्रमा ६ मिटर सडक बन्नुपर्ने भएपनि सोही अनुसार काम नभएको स्थानीयहरुले बताएका छन् । निर्माण कार्य भइरहेको स्थानमा बनाइएका फुटपात र ब्लक निकै कमसल भएको उनीहरुको गुनासो रहेको छ । जेष्ठ नागरिक पार्कका स्थानीय शुवास चन्द्र बिष्टले नगर विकास समितिले निर्माण गरिरहेको सडक स्थानीयको हितमा नरहेको बताए । उक्त क्षेत्रमा ६ मिटर सडक बनाउनु पर्ने भएपनि निकै साँघुरो बनाएको उनले दाबी गरे ।

नगरपालिका भित्र बन्ने सडक उपभोक्ता मैत्री बन्नुपर्ने भन्दै विधि र प्रक्रिया अनुसार सडकको निर्माण होस् भन्ने उद्देश्य नगर विकास समितिको ध्यानाकर्षण गरिएको बिष्टले जानकारी दिए । उनका अनुसार ती सडक व्यापारिक तथा आवासीय दृष्टिले उपयुक्त र गुणस्तरीय नदेखिएका कारण अवरोध गर्नु परेको हो । ‘सबै क्षेत्रमा ६ मिटर नै बाटो चाहिन्छ’ उनले भने, ‘अहिले बनाईएका फुटपात र ब्लक समेत बैज्ञानिक छैनन् ।’ अर्का स्थानीय गोविन्द पौडेलले सडक गुणस्तरीय नभएको विषयमा २ पटक सम्म नगर विकास समितिलाई जानकारी गराउँदा समेत आफुहरुको माग पुरा नभएको बताए । निर्माण व्यवसायीले फुटपात र ब्लक निर्माण गर्दा मात्रा नै नपु¥याएको उनले जानकारी दिए ।

‘फुटपात बनाउँदा १ कट्टी सिमेन्ट र १२ वटा बोरा बालुवा हालेर बनाईएको छ, पानी पनि राम्रो सँग हालिएको छैन’ उनले भने । उक्त क्षेत्रमा कुल २२ वटा प्लट रहेका छन्, भने करिब ३ सय घरधुरी रहेका छन् । ‘हाम्रो क्षेत्रमा मात्रै होईन, अन्य क्षेत्रमा समेत यस्ता समस्याहरु देखिएका छन्’ अर्का स्थानीय पुरमल बस्नेतले भने, ‘नगर विकासले समितिले सबैलाई सहज हुने गरी दीर्घकालिन सोचका साथ बाटो निर्माण गर्नु पर्ने हो ।’ उनका अनुसार सम्बन्धित पक्षलाई राम्रो सडक निर्माण तथा विस्तारका लागि सहज होस भन्नेका लागि निर्माण कार्यमा अवरोध गरिएको बताए । टाउन प्लानिङ क्षेत्रमा मात्रै ११ वटा पार्क क्षेत्र रहेका छन् ती मध्ये एक ठाउँमा खानेपानी, अर्कोमा स्कुल र त्यस क्षेत्रमा जेष्ठ नागरिक सेवा केन्द्र रहेको छ । उक्त क्षेत्रमा काम गुणस्तरीय र ६ मिटरको बाटो भन्दा निकै साधुँरो सडक हुन लागेको भन्दै स्थानीयले बिहीबार पनि त्यस क्षेत्रमा अवरोध गरे । निर्माण जिम्मा लिएको निर्माण व्यवसायीलाई पनि बारम्बार भन्दा सम्पर्कमा नभएको भन्दै अवरोध गरिएको अर्का स्थानीय नरहरी सुनारले जानकारी दिए ।

उता कोहलपुर नगर विकास समितिले सडक विस्तार तथा स्तरोन्नतीको क्रममा केही ठाउँमा स्थानीयले अवरोध गरेको जानकारी प्राप्त भएको जनाएको छ । नगर विकास समितिका ईन्जिनियर गणेश शाहले केही ठाउँमा स्थानीयले अवरोध गरेको बताए । उनका अनुसार केही ठाउँमा स्थानीयले सडक आफू अनुकुल भएन भनेर अवरोध सिर्जना गरेका हुन् । सडकको चौडाईको विषयलाई लिएर स्थानीयहरुको असन्तुष्टी देखिएको उनले जानकारी दिए ।

‘ति क्षेत्रको सडकका दुवै साईटमा फुटपात र ब्लक सहित ६ मिटर बन्नु पर्ने हो । सोही अनुसार काम भईरहेको छ’ उनले भने । तर वनवाटिका÷ जेष्ठ नागरिक पार्क क्षेत्रमा बनाईएका फुटपात, ब्लक बनाउदाँ उचित ध्यान नदिएको पाईएको छ । सार्वजनिक महत्वको विषयमा कोही कसैले व्यक्तिगत स्वार्थका लागि सडक विस्तार गरिने र गुणस्तरहिन काम नहुने उनले स्पष्ट पारे । ‘गुणस्तर हिन काम देखिएका केही स्थानमा सडक पनि भत्काएका छौ’ उनले भने, ‘राम्रो सडक निर्माण नभएको भएर हामीलाई जानकारी दिनुस ।’ स्थानीयहरुले अवरोध गरेको विषयमा नगर विकास समितिले स्थानीयको राय बुझ्ने समेत उनले जानकारी दिए ।

कोहलपुर नगर विकास समितिका अध्यक्ष लुट बहादुर रावत सडक निर्माण÷ विस्तार तथा स्तरोन्नतीको क्रममा कतैपनि गुणस्तर हिन काम भएको पाईएमा ठेकेदारलाई कारबाही गरिने बताउँछन् ।

प्रकाशित मितिः शुक्रबार, पुस १८, २०७६     10:17:12 AM  |